ऊर्जा

विद्युत खपतमा सकारात्मक पहल

उद्योगले थप ३६० मेगावाट विद्युत् खपत गर्दै

इकागज |
पुस ७, २०७८ बुधबार १३:२७ बजे

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रीड प्रभाव अध्ययन (ग्रीड इम्प्याक्ट स्टडी— जीआईएस) गरिएको प्राधिकरणले जनाएको छ । यसबाहेक प्राधिकरणले पाँचवटा उद्योगहरूले माग गरेको करिब ९८.८ मेगावाटको जीआइएसको प्रक्रियामा रहेको उसको भनेको छ । 

प्राधिकरणका अनुससार लोड स्वीकृत, जीआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरूमा थप करिब ३६० मेगावाट विद्युत खपत हुनेछ । थप विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरू  छन् । प्राधिकरणको कूल ४५ हजार २८ लाख ४ सय ११ ग्राहकमध्ये औद्योगिक ग्राहक जम्मा १.३४ प्रतिशत मात्र छ । औद्योगिक ग्राहकबाट प्राधिकरणले ३८.८४ प्रतिशत आम्दानी गर्छ । 


जीआइएसमार्फत  लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत उपलब्ध गराउन सकिने÷नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जीआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रीड कनेक्सन सम्झौता भएपछि मात्र थप लोड आपूर्ति हुने गर्छ । 

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको जनाएको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन सयम–सीमासहितको प्रक्रिया निर्धारण गरिएको उसले बताएको छ । 

ठूलो परिमाणमा विद्युत माग गर्ने ग्राहकहरूलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियम अनुसार गर्नुपर्ने जीआइएसलाई व्यवस्थित र शीघ्र गर्न समय–सीमा सहितको प्रक्रिया लागू गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए ।  अहिलेको माग देशमा उत्पादित विद्युत यहींभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । 

‘औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ, लोड स्वीकृति भएका उद्योगलाई प्रसारण तथा वितरण प्रणालीले  धानेसम्म तत्कालै विद्युत उपलब्ध गराएका छौं, केहीले लोड स्वीकृत गराएर आफ्ना संरचनाहरू बनाइरहेका छन्, त्यस्ता उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत दिने गरी लाइन तथा सबस्टेसनको विस्तार र सुदृढीकरण गरिरहेका छौं,’ घिसिङले भने ।

‘आफैंले प्रमुख उद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूकोे भ्रमण गरी त्यहाँको विद्युत आपूर्तिको अवस्था र आगामी दिनमा चाहिने लोडको जानकारी लिएको छु, योसँगै उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार  विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ,’ घिसिङको भनाइ छ ।

प्राधिकरणको विद्युत खपत बढाउने अल्पकालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत  विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । 

प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ । 


 


Author

थप समाचार
x