ऊर्जा

नेपालबाट ६ सय मेगावाट बिजुली निर्यात गर्न दिन भारत सहमत

ढल्केबर-मुजफ्फपुर लाइन क्षमता ६ सय मेगावाट कायम

इकागज |
माघ ४, २०७८ मंगलबार १२:४८ बजे

काठमाडौँ- सीमापार प्रसारण लाइनबाट बिजुली आयात मात्र भइरहेका बेला भारतले नेपालबाट ६ सय मेगावाटसम्मको बिजुली निर्यात गर्न सकिने गरी सहमति गरेको छ । हिजो भएको दुवै देशको सहसचिव स्तरीय संयुक्त प्राविधिक समितिको बैठकमा भारतले ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट ६ सय मेगावाट बिजली प्राविधिक रुपले निर्यात गर्न सहमति गरेको हो ।

बैठकमा नेपाली पक्षको नेतृत्व गरेका विद्युत् विकास विभागका महानिर्देशक सन्दीप देवले भारतबाट आयात मात्र हुँदै आइरहेकोमा अब नेपालबाट ६ सय मेगावाट निर्यात गर्न सकिने सहमति भएको बताए । उनका अनुसार खिम्ती ढल्केबर २२० केभी सञ्चालनमा आएको, माथिल्लो तामाकोसी (४५६ मेगावाट) पूर्ण उत्पादन भएको र आगामी असारसम्ममा थप पाँच सय मेगावाट बिजुली उत्पादन हुने लगायतका विकसित घटनाक्रम भारतलाई अवगत गराएपछि नेपालबाट पनि निर्यात गर्न प्राविधिक रुपले ठीक छ भन्‍ने सहमति भएको हो ।


महानिर्देशक देवका अनुसार ढल्केबर-मुजफ्फपुर ४०० केभी प्रसारण लाइनको क्षमता ३५० मेगावाट मात्र रहेकामा उक्त बैठकले ६ सय मेगावाटको क्षमता कायम भएको छ । ‘सबै प्राविधिक पक्ष केलाएपछि यो लाइनको क्षमता ६ सय मेगावाट कायम गर्ने सहमति भएको छ,’ देवले मंगलबार इकागजसँग भने, ‘अरु पनि आयोजना थप हुने भएपछि हामीलाई ३५० मेगावाटले मात्र पुग्दैनथ्यो, यो बढाउन एकदम जरुरी थियो ।’

ढल्केबरमा ३१५ एमभीएका तीनवटा ट्रान्सफरमर राखिएको र आगामी दिनमा नेपालको आन्तरिक प्रसारण लाइन तथा संरचना निर्माण हुँदै जाँदा ढल्केबर-मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता पनि क्रमशः बढाउँदै जाने सहमति भएको देवले जानकारी दिए । उनले नेपालले आगामी दिनमा बिजुली आपूर्ति र गुणस्तरको सुनिश्चितता कायम राख्न ‘स्पेसल प्रोटेक्सन सिष्टम’ (एसपीएस) जडान गर्ने तथा तदनुरुप आयात निर्यातको क्षमता बढाउँदै जाने सहमति भएको बताए । 


Author

थप समाचार
x