ऊर्जा

अनियमितता

विद्युत् प्राधिकरणका सञ्चालकहरूलाई अनधिकृत गाडी सुविधा

विकास थापा |
माघ ११, २०७८ मगलवार १४:९ बजे

काठमाडौं : विद्युत् प्राधिकरणका सञ्चालक समितिका मनोनीत चारजना सदस्यहरूले अनधिकृत तवरमा प्राधिकरणका महँगा गाडी व्यक्तिगत प्रयोग गर्दै आएका छन् । 

उनीहरूलाई प्राधिकरणले मासिक १२० लिटर तेल, भनेजति मर्मत रकम, काज सुविधा, उपत्यका बाहिर जाँदा लाग्ने सम्पूर्ण इन्धन उपलब्ध गराउँदै आएको छ । उपत्यका बाहिर जाँदा किलोमिटरका आधारमा तेल लिने गर्छन् । प्राधिकरणमा १० औं तहदेखिका कर्मचारीले मात्र गाडी, इन्धन, मोबिल, मर्मत खर्च र चालक पाउँछन् ।


सञ्चालकहरू कपिल आचार्यले लु १ ज ७७ टोयोटाको प्राडो चढ्दै आएका छन् । त्यस्तै भक्तबहादुर पुनले टोयोटाकै साविकको बा १ ञ १७३६ (हालको बीएए ९६०४), विश्वप्रकाश गौतमले बा १ ञ २१३२ को स्कोर्पियो जीप र अर्का सञ्चालक राजेन्द्रबहादुर क्षेत्रीले बा १ ञ १७३२ को टायोटाको यारिस कार प्रयोग गर्दै आएका छन् ।

प्राधिकरण स्रोतका अनुसार यी सञ्चालकहरूले सञ्चालक समितिमा नियुक्ति भएदेखि नै सवारी सुविधा उपभोग गर्दै आएका छन् । प्राधिकरण ऐन तथा नियमावलीमा सञ्चालकले गाडी सुविधा पाउने उल्लेख छैन । 

विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १४ मा सञ्चालकको पारिश्रमिक तथा सुविधा तोकिएबमोजिम हुनेछ उल्लेख छ । तर प्राधिकरणले त्यस्तो सुविधा हालसम्म निर्णय गरेर तोकको छैन । सञ्चालक समितिले निर्णय नगरेकाले उनीहरूको गाडी सुविधामाथि प्रश्न उठ्दै आएको छ । 

अर्थ मन्त्रालयले २०६५ साल भदौ २६ गते जारी गरेको ‘सञ्चालक समितिका पदाधिकारीहरूको काम, कर्तव्य र आचरण’ सम्बन्धी परिपत्रमा पनि कुनै पनि संस्थानका सञ्चालक समितिका सदस्यहरूले गाडी सुविधा नपाउने उल्लेख छ । 

अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले उक्त मितिमा जारी गरेको काम, कर्तव्य र आचरणसम्बन्धी परिपत्रमा ‘संस्थानको सञ्चालक समितिका पदाधिकारीहरूलाई बैठक भत्ता र बैठक भएको दिनमा मात्र बैठकमा आउन जान सवारी साधानबाहेक अरु कुनै पनि सुविधा उपलब्ध नगराउने’ उल्लेख छ । 

अर्थको उक्त पत्रमा अचारणसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायबाट हुने गरेको निर्देशनलाई समेत ध्यानमा राखी सम्बन्धित ऐन, नियम र स्वीकृत नम्र्सभन्दा बढी भत्ता एवं अनय सुविधा नलिने उल्लेख गर्दै भनिएको छ, ‘विशेष गरी सवारी साधन र इन्धन नलतेतर्फ विशेष सचेत रहने ।’ 

मन्त्रालयले उक्त परिपत्रमा निम्न निर्देशन पनि दिएको छ: 

–    संस्थानका सवारी साधनको दुरुपयोग नहुने व्यवस्था मिलाउने,
–    संस्थानको कामको सिलसिलामा बाहेक अन्य निकाय वा व्यक्तिले प्रयोग गर्ने गरी कुनै पनिसवारी साधन उपलब्ध नगराउने,
–    यस्तो सवारी साधन उपलब्ध गराउनुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएमा मन्त्रालयको पूर्व स्वीकृति लिई गर्ने । 

सञ्चालकहले गाडी, इन्धन र मर्मत मात्र होइन उनीहरूले ‘डेडिकेटड चालक’ (सञ्चालकका गाडी मात्र चलाउने) समेत लिएका छन् । चालकहरूलाई प्रतिदिन पाँच घण्टा र बिदा (शनिबार) का दिन ७ घण्टाका दरले ओभर टाइम पनि दिने गरिएको छ ।


 
सञ्चालकहरूले प्रयोग गर्दै आएका गाडीहरूको मर्मत पनि उनीहरूकै निर्देशनमुताबिक हुँदै आएको स्रोतले बतायो । ‘हरेक पाँच हजार किलोमिटरपछि अनिवार्य मर्मत हुन्छ, विश्व सरबाहेक सबै सञ्चालकका जापानी गाडी छन्,’ स्रोतले भन्यो, ‘मर्मत खर्च पनि तीन लाख, चार लाख आउने गर्छ ।’

सञ्चालक सदस्यको कुनै काज हुँदैन तर चालकको काज स्वीकृत गराई सवारी साधनहरू बाहिर प्रयोग गर्दै आएका छन् । प्राधिकरणका ती सवारी साधान सञ्चालक सदस्यको निर्देशनअनुसार नै बिहानदेखि बेलुकीसम्म ‘ड्यूटी’ गर्दै आएका छन् । 

जबकि सञ्चालकहरूको काम भनेका प्राधिकरण सञ्चालक समितिको बैठकमा आउने र जाने मात्र हो । उनीहरूलाई बैठकमा आउन र जान मात्र गाडी सुविधा उपलब्ध हुने अर्थ मन्त्रालयकै परिपत्रमा उल्लेख छ । 

यस सम्बन्धमा प्राधिकरणका सञ्चालक विश्वप्रकाश गौतमले आफू सञ्चालकमा नियुक्ति भएदेखि नै अन्य सञ्चालकले पनि प्राधिकरणको गाडी सुविधा लिइरहेका र आफूलाई पनि दिइएको बताए । ‘प्राधिकरणले सबै सञ्चालकलाई गाडी सुविधा नदिने भन्छ भने मलाई केही छैन, म आफ्नै गाडी चढ्छु,,’ गौतमले इकागजसँग भने, ‘म छाड्न तयार छु ।’

 


 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x