ऊर्जा

मार्तडीमा प्राधिकरणको लाइन जडान

इकागज |
माघ ११, २०७८ मंगलबार १५:४५ बजे

बाजुरा – जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।

दैनिक छदेखि १० घण्टासम्म विद्युत भार कटौतीको मार खेप्दै आएका सदरमुकामवासी उक्त लाइन जडान भएपछि खुसी भएका छन् । यही माघ ७ गतेदेखि जडान गरिएको लाइनबाट १० गते साँझदेखि नियमितरुपमा विद्युत उपलब्ध गराउन सकिएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलको भनाइ थियो । 


विसं २०४६ मा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्रले २०६६ सालदेखि विद्युत उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर विद्युत उपलब्ध गराउँदै आएको थियो । 

दुई सय किलोवाट क्षमताको उत्पादित विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो विद्युत भार कटौती गर्दै आएको थियो । सदरमुकाम मार्तडीलाई लक्ष गरेर सोमबारदेखि ११ हजार भोल्टेजको लाइन जडान उपलब्ध गराइएको हो । बाजुरामा सवस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सवस्टेशन निर्माण भइसकेपछि ३३ केभीएको लाइन दिनसकिने उनले  जानकारी दिए ।  


Author

थप समाचार
x