टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउने अनुमतिले प्रणाली सुधार हुने
काठमाडौं : टनकपुरबाट थप १५ मेगावाट बिजुली आउने भएपछि विद्युत् प्राधिकरणको प्रणालीमा केही सुधार हुने भएको छ ।
प्रसारण लाइनको क्षमताले नधानेका कारण पूर्वको बिजुली पश्चिम पठाउन नसकिरहेको प्राधिकरणले अब टनकपुरबाट थप बिजुली पाएपछि बिहारबाट हुने आयात कटौती हुने प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीइए) ले नेपाल विद्युत् प्राधिकरणलाई गत शुक्रबार टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको थियो । प्राधकिरणले टनकपुरबाट हाल ७० मेगावाट बिजुली आयात गर्दै आएको छ ।
प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।
‘टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौं, भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी-मार्च र जुलाई-डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं,’ शाक्यलाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा छ ।
प्राधिकरणले ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताए । यसबाट मुलककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने शाक्यको भनाइ छ ।
केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत आयात गर्न सकिने छ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुने छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर-मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई-नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर-अप्रिलमा ३५० मेगावाटसम्म र मे-जूनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ ।
विद्युत आपूर्ति सुधार गर्न निर्देशन
कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन, विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिए । शाक्यले बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।
भैरहवा क्षेत्रका उद्योगीहरुले विद्युत्को गुणस्तरीयता र पर्याप्त विद्युत् आपूर्ति नपाएको गुनासो बारम्बार गरिरहेको उल्लेख गर्दै उहाँले पर्याप्त र भरपर्दो विद्युत आपूर्ति हुने गरी नयाँ संरचना बनाउन, भइरहेको संरचनाको नियमित मर्मतसम्भार गर्न र चालू योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया