हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध
जुम्ला – जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ । सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातले विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ ।
हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताए। विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन् । विद्युत् अवरुद्ध भए पछि खलङ्गाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत्का खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।
मौसम सफा भएपछि कुन ठाउँमा विद्युत् क्षति पुगेको छ सोही ठाउँमा कर्मचारी खटाएर विद्युत् सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताए । हिमपातका कारण जुम्ला जिल्ला पूरै हिउँले सेताम्य भएको छ । हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाई तथा सडक यातायात पूर्णरुपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ ।
कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो
कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् ।
आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजिअ प्रमिला रिजालले बताए । सडक खुलाउनका लागि सदरमुकाम खलङ्गाबाट दुई डोजर प्रयोग भएका छन् । सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए। हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन । भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया