गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुखले माथिल्लो तामाकोसीलाई दुःख दिन थाले
तामाकोसीले बनाएको रोल्वालिङ खोलामा रोक
काठमाडौं : गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख फेरिएपछि दोलखा जिल्लामा निर्माणाधीन विभिन्न जलविद्युत् तथा प्रसारण लाइन आयोजनाहरुलाई दुःख दिन थालेको छ । कहिले संरक्षण पत्रमा प्रवेश गर्नुअघि पूर्व अनुमति लिनुपर्ने, कहिले बनिरहेका आयोजनामा रोक लगाउने, कहिले गिटीढुंगा उपयोग गरेबापतको पैसा मागेर हैरानी दिएको हो । माथिल्लो तामाकोसीले निर्माण गर्न लागेको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माणमा एक वर्षपछि रोक लगाएको छ ।
आयोजनाको कार्यालयले यही माघ १७ गते माथिल्लो तामाकोसीको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडलाई पत्र पठाई ‘यस कार्यालयको अनुमति नभएसम्मका लागि तत्काल भौतिक निर्माणको कार्य अगाडि नबढाउन’ सूचित गरेको हो ।
पत्रमा निर्माण कार्य नरोके ‘कानुनबमोजिम हुने’ पनि भनिएको छ । गौरीशंकरले निर्माण कार्य रोक्नुअघि माथिल्लो तामाकोसीसँग कुनै संवाद नगरेको कम्पनीका उपप्रबन्धक विमल गुरुङले बताए ।
माथिल्लो तामाकोसी निर्माण गर्नुअघि नै रोल्वालिङकोसमेत पानी मिलाएर बिजुली उत्पादन गर्ने गरी डिजाइन भएको थियो । सोही डिजाइनअनुसार कम्पनीले विद्युत् विकास विभागसँग अनुमति लिएर र वातावरणीय प्रभाव मूल्यांकनसमेत गराई निर्माणअघिको गतिविधि सुरु गरेको हो ।
मुख्य संरचना निर्माणअघि माथिल्लो तामाकोसीले घोडेटो बाटो, पक्की पुल, पहुँच मार्ग र सुरुङ (१८० मिटर) परीक्षण कार्य गर्दै आएको उपप्रबन्धक गुरुङले बताए ।
उनका अनुसार रोल्वालिङको पानी माथिल्लो तामाकोसीको जलाशयमा मिसाउँदा अति सुख्खायाममा पनि २.७ घनमिटर प्रतिसेकेण्ड पानी जम्मा हुने र यसबाट थप एक घण्टाको लागि ४५६ मेगावाटको पिकिङ इनर्जी (अत्यधिक माग भएका बखत आपूर्ति हुने) उत्पादन हुनेछ ।
रोल्वालिङ आयोजना सम्पन्न भएपछि हिउँदयाममा भारतबाट बिजुली आयातलाई रोक्छ । आजभोलि प्राधिकरणले भारतबाट ४६० मेगावाट बिजुली आयात गर्दै आएको छ । भारतबाट एक वर्षमा झन्डै २३ अर्ब रुपैयाँको बिजुली आयात हुने गर्छ ।
आयात विस्थापन गरी बिजुलीमा आत्मनिर्भर हुने बाटोमा गौरीशंकरले टाङ अड्याउँदा सरकारी निकायहरु निरीह देखिएका छन् । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा पु¥याएको र मुख्य निर्माण कार्य पनि सुरु नगरेकाले अहिले नै काममा रोक लगाउनु दुःखद भएको गुरुङले बताए ।
माथिल्लो तामाकोसीले लामाबगरबाट रिखु गाउँ जाने घोडेटो बाटो बनाइरहेको थियो । यसका साथै माथिल्लो तामाकोसीले माथिल्लो लामाबगरमा एउटा पक्की पुल (६० मिटर) पनि बनाउन लागेको थियो । यसबाट त्यस भेगका स्थानीय वासिन्दाहरु लाभान्वित हुनेवाला थिए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले रोल्वालिङ आयोजनाको निर्माणअघिका यी गतिविधिमाथि एक वर्षपछि आएर रोक लगाएको । उपप्रबन्धक गुरुङका अनुसार एक वर्षअघि सुरु भएको निर्माण पूर्वका गतिविधि कोरोनाका कारण गति लिन पाएको थिए । अहिले पनि ४०, ५० जना कामदार आयोजनास्थलमै रहेको उनले बताए ।
गौरीशंकर आयोजना प्रमुख मधु क्षेत्रीले हस्ताक्षर गरेको उक्त पत्रमा रोक लगाउने प्रावधान भएको ऐन तथा नियमावली तथा निर्देशिकालाई उद्धृत गरिएको छैन । संरक्षण क्षेत्र नियमावली र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका, २०५६ मा संरक्षण क्षेत्र आयोजनाको काम, कर्तव्य र अधिकारबारे लेखिएको छैन ।
गौरीशंकरले रोल्वालिङको निर्माण कार्य रोक्न लेखिएको पत्रको बोधार्थ संरक्षण्ढा क्षेत्र व्यवस्थापन समिति बिगु गाउँपालिका वडा नंं. १, सेतीवेदी सरंक्षण वन व्यवस्थापन उपसमिति बिगु, मिलारेपा संरक्षण वन व्यवस्थापन उपसमिति बिगुलाई पनि दिइएको थियो ।
बोधार्थित निकायहरुलाई ‘भौतिक निर्माणको कार्य रोके नरोकेको अनुगमन गरी जानकारी गराउनु हुन’ भनिएको छ ।
कसरी हुन्छ अठ्याउने
गौरीशंकरले रोल्वालिङ खोलाको काममा रोक लगाएर मात्र चित्त बुझाएन । उसले माथिल्लो तामाकोसी लगायत उसको क्षेत्रमा प्रवेश गर्ने सम्पूर्ण विद्युत् आयोजना तथा प्रसारण लाइनहरुको निर्माण,संचालन, मर्मत, अनुगमन लगायतका कुनै पनि कार्यका लागि प्रवेश अनुमति लिनुपर्ने अर्काे उर्दी पनि जारी गरेको छ ।
आयोजना प्रमुख मधु क्षेत्रकै हस्ताक्षरमा प्रेषित उक्त उर्दीमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेका सबै आयोजनाहरुमा कार्यरत व्यक्तिहरुको विववरण पनि उपलब्ध गराउन भनिएको छ ।
गौरीशंकरले आफूलाई यस्तो कार्य गर्ने अधिकार संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ ले दिएको उल्लेख गरेको छ ।
बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आफ्नो गाउँपालिकालाई साह्रै दुःख दिएको बताए । वडा नं. ६ स्थित ढुंगाखानी बन्द गराउने, मजदुरलाई भोकभोकै तुल्याउने, बाटो खन्न नदिने लगायतका जनविरोधी कार्य गरेकाले आगामी गाउँ सभामा आयोजना खारेजी गर्ने प्रस्ताव लैजान खड्काले बताए ।
नजरचाहिं पैसामाथि
गौरी शंकरले जसरी हुन्छ जलविद्युत् आयोजनाहरुलाई अप्ठेरो पार्ने, असहयोग गर्ने नीति लिएको देखिन्छ । उसले गत मंसिर १४ गते माथिल्लो तामाकोसीलाई एक चिठी लेखेर आर्थिक वर्ष २०७४ देखि २०७६/७७ सम्मको नदीजन्य पदार्थ उपयोगबापतको पैसा गौरीशंकर आयोजना कार्यालयमा दाखिला गरे नगरेको विवरण माग गरेको हो ।
माथिल्लो तामाकोसीले तत्कालीन जिल्ला विकास समितिसँग स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५(१) बमोजिम सम्झौता गरी आव २०७३÷७४ सम्म वार्षिक ५० लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
प्रादेशिक संरचना लागू भएपछि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) घ बमोजिम स्थानीय कर, सेवा शुल्क तथा दस्तुर संकलन गर्न सक्ने व्यवस्था भएबमोजिम बिगु गाउँपालिकालाई आर्थिक वर्ष २०७४/७५ पश्चात् उक्त ५० लाख रुपैयाँ भुक्तानी हुँदै आएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख क्षेत्री आएको तीन महिना भयो । यो संरक्षण आयोजना २०६६ सालमा माधव नेपाल सरकारले घोषणा गरेको थियो । यसअघि गौरीशंकरले जलविद्युत् आयोजनाहरुलाई सहयोग गर्दै आइरहेको भुक्तभोगीहरु बताउँछन् । ‘उहाँ (क्षेत्री) आएदेखि हामीले दुःख पाएम्,’ उक्त क्षेत्रका एक जलविद्युत् प्रवद्र्धकले इकागजसँग भने ।
यस सम्बन्धमा गौरीशंकरका क्षेत्री इकागजसको सम्पर्कमा आउन चाहेनन् । उनले सूचना अधिकृत तुलसी दाहाललाई खटाए । दाहालले आफूहरुले सबै काम कानुन बमोजिम गरेको जिकीर गरे । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ र निर्देशिका २०५६ बमोजिम गौरीशंकरले काम गरेको दाहालको भनाइ थियो ।
नेपालको हिउँ चितुवामा विद्यावारिधी गरेका क्षेत्रीलाई नियमविपरीत बढी बिदा बसेको भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७६ असोजमा बर्खास्त गरेको थियो । केपी ओलीको सरकारले कोषको अध्यक्षमा केपी (कृष्णप्रसाद) ओलीलाई नियुक्त गरेपछि क्षेत्रीलाई थमौती गरिएको थियो ।
के हो रोल्वालिङ ?
माथिल्लो तामाकोसीको जलाशयभन्दा उपल्लो भागमा रहेको रोल्वालिङ खोला छ । उक्त खोलामा रहेको एकमात्र जलविद्युत् आयोजना माथिल्लो तामाकोसीले बनाउन लागेको हो । २० मेगावाट क्षमता रहेको यो आयोजनाको प्रमुख उद्देश्य सुख्खायाम (कात्तिकदेखि जेठसम्मको आठ महिना) मा यसको पानी तल रहेको माथिल्लो तामाकोसीको जलाशयमा मिलाउनु हो ।
अति सुख्खायाममा यो खोलाबाट प्रतिसेकेण्ड २.७ घनमिटर पानी जलाशयमा आउँछ । ११.८ घनमिटर प्रतिसेकेण्ड पानीलाई टर्बाइनमा हुल्ने गरी यसको डिजाइन गरिएको छ ।
आयोजनाले ५.३ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नेछ । रोल्वालिङ जलविद्युत आयोजनाबाट वार्षिक १०५ गिगावाट घण्टा (१० करोड ५ लाख युनिट) र माथिल्लो तामाकोशीको जलाशयमा मिसिएपछिको पानीले माथिल्लो तामाकोशीबाट सुक्खा याममा ८ महिना २१६ गिगावाट घण्टा (२१ करोड ६० लाख युनिट) थप ऊर्जा उत्पादन हुनेछ । यसबाट मात्र माथिल्लो तामाकोसी पिकको समयमा एक घण्टा पूर्ण क्षमता (४५६ मेगावाट) मै उत्पादन गर्न सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया