ऊर्जा

सुपरदोर्दी  ‘ख’ आयोजनाको निर्माण कार्य तीव्रगतिमा

इकागज |
माघ २१, २०७७ बुधबार १९:५२ बजे

फाइल तस्बिर

काठमाडौँ  :  कोरोना भाइरस सङ्क्रमणका कारण प्रभावित बनेका सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्यलाई अहिले तीव्रता दिइएको छ । लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले दिनरात आयोजनाको निर्माण कार्यलाई तीव्रता दिँदै आइरहेको छ । 

लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट यो आयोजनाको काम तीव्रगतिमा भइरहेको आयोजनाले जनाएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो । हालसम्म ८२ प्रतिशत निर्माण कार्यसम्पन्‍न भएको र आगामी भदौ महिनासम्म विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तीव्रताका साथ अघि बढाइएको आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले जानकारी दिए । ‘हामीले दिन र रातिको समयमा पनि निर्माण कार्यलाई अघि बढाइरहेका छौँ’ उनले भने ।  


कूल आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ३७ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् । 

आयोजनाका साइट इञ्‍चार्ज सिग्देलका अनुसार एक हजार ७०० मिटर इनटेक सुरुङ मार्गमध्ये ५६० मिटर खन्‍न बाँकी रहेको छ । दुवैतिरबाट खन्‍ने काम भइरहेको र एक महिनामा एकतर्फमात्र ७५ मिटर निर्माण सम्पन्‍न हुने गरेको छ । दुवैतिरबाट १५० मिटर एक महिनामा सकिन्छ, यसरी अघि बढिरहँदा आगामी जेठसम्म यसको काम सम्पन्‍न हुने उनको भनाइ छ । त्यस्तै, अर्को साइटको एक हजार ४०० मिटरको सुरुङको फिनिसिङको काम भइरहेको छ । एक हजार २०० मिटरको सुरुङको कामसमेत अन्तिम चरणमा पुग्न लागेको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार अब यस आयोजनामा ७०० मिटर पाइप बिच्छ्याउन बाँकी छ । त्यस्तै, पावर हाउसको दुई तला भवन निर्माण सम्पन्‍न भएको र वरिपरि पर्खाल लगाउने कार्य भइरहेको छ । आयोजनाले गत भदौ महिनामै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो तर विविध कारणले गर्दा निर्माण कार्य लम्बिएपछि आगामी भदौसम्ममा भने विद्युत् उत्पादन गर्ने आयोजनाका साइट इञ्चार्ज सिग्देलले बताए ।   

विसं २०७५ मा निर्माण कार्य सम्पन्‍न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्‍न हुने आयोजनाले जनाएको छ । 

आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण  लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी  प्रबर्द्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने (पिपिए) सम्झौता भएको छ ।

यसअघि ७० मेगावाटको मध्य मर्स्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । यस करिडोरमा यसबाहेक चार वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सोमध्ये हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना हो । यस आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण कार्य सम्पन्‍न गर्दै आगामी चैत महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य रााखेको छ ।
 
त्यस्तै, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी-१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन् । यीमध्ये माथिल्लो दोर्दी ‘ए’ ले पनि आगामी चैत महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । अन्य आयोजनाले समेत निर्माण कार्यलाई तीव्रता दिएका छन् । 

जिल्लामा यसअघि बेँसीशहर नगरपालिका-१ दलालमा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र, मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ५ मेगावाटको सिउरी, ४।४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दीलगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेको छ ।  रासस


Author

थप समाचार
x