आफ्नो बिजुली खेर, भारतबाट आयात जारी
काठमाडाैं : दिव्य १२ वर्षदेखि एउटा प्रसारण लाइन निर्माण नसकिंदा आप्mनो पानी खेर फालेर भारतबाट बिजुली आयात गर्नुपरेको छ । विश्व बैंकको ऋणमा सन् २००८ देखि निर्माण सुरु भएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन पूरा हुन नसक्दा यस्तो अवस्था आएको हो ।
हेटौंडादेखि पश्चिम क्षेत्रमा बिजुलीको माग (लोड) नभएको र माग भएको पूर्व क्षेत्रमा यही प्रसारण लाइनका कारण पठाउन नसकिएको विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईले बताए । यही कारण अहिले पनि प्राधिकरणले भारतबाट २७० मेगावाट बिजुली आयात गरिरहेको छ । यद्यपि, यो आयात अत्यधिक बिजुली खपत हुने (पिक) समयका लागि हो ।
हेटैंडा भरतपुर बर्दघाट प्रसारण लाइनले पूर्वी र पश्चिम नेपाललाई जोड्ने काम गर्छ । चिनियाँ ठेकेदारले काम नगरेपछि त्यसको ठेक्का रद्द गरी पुनः अर्काेलाई दिंदा निर्माण कार्यमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । अबको संशोधित मिति भने यसै वर्षको पुस मसान्त रहेको प्राधिकरणको योजना छ ।
भट्टराईका अनुसार ढल्केबर–मुजप्mफपुर (डीएम) प्रसारण लाइनमार्पmत भारतबाट पिक समयमा एक सय ५० मेगावाट, बिहान आठदेखि दुई बजेसम्म ४० मेगावाट र त्यसपछि २० मेगावाट बिजुली आयात भइरहेको छ । ‘कूल मिलाएर पिक समयमा हिजो आइतबारसम्मको पछिल्लो तथ्यांकमा २७० मेगावाट बिजुली आयात भइरहेको छ,’ भट्टराईले सोमबार इकागजसँग भने ।
उनका अनुसार हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन भएको भए भारतबाट बिजुली आयात गर्नुपर्दैनथ्यो । यसका साथै कुलेखानी (जलाशय) को पानी पनि सञ्चित भइरहन्थ्यो । हिजो आइतबार कुलेखानीमा आठ सेन्टिमिटर पानी खपत भएको प्राधिकरणको साविकको भार प्रेषण केन्द्रले जनाएको छ । कुलेखानीमा पानी सतह १५२४.७४ मिटर रह्यो । गत वर्षको यही समयमा कुलेखानीमा १५२७.४० मिटर पानी थियो ।
हालको १३२ केभीको अति पुरानो लाइनबाट पूर्वमा बिजुली लगिएकाले मुश्किलले ८० मेगावाट मात्र प्रसारण भइरहेको पनि भट्टराईले जानकारी दिए । यता पूर्वबाट बिजुली पठाउन नसकिरहेका बेला प्रणालीमा उपयोग हुन नसकेको (स्पील) बिजुली त्यतिकै खेर फाल्नुपर्ने विडम्बना पनि देखिएको छ ।
दसैंका बेला प्राधिकरणको प्रणालीमा पाँच सय मेगावाटसम्म बिजुली जगेडा देखिएको उल्लेख गर्दै भट्टराईले आजभोलि उल्लेखनीय रुपमा जगेडा नभएको बताए ।
केन्द्रका अनुसार हिजो आइतबार साँझ अत्यधिक बिजुली खपत (पिक लोड) १२७५ मेगावाट थियो । गत वर्षको यही समयमा पिक लोड १०६८ मेगावाट थियो ।
प्राधिकरणले आफ्नाे विद्युत् गृहबाट हिजो चार सय ९६ मेगावाट बिजुली उत्पादन गरेको थियो । निजी क्षेत्रबाट ५०९ मेगावाट र भारतबाट २७० मेगावाट आयात भएको थियो ।
खासै उद्योग, कलराखाना नभएको काठमाडौं उपत्यकामा बत्ती बाल्ने बेलाको बिजुलीको माग २६५ मेगावाट छ भने न्यूनतम ६८ मेगावाट रहेको केन्द्रले जनाएको छ ।
विद्युत्को जडित क्षमतामा माग घटे पनि ऊर्जा खपत भने पहिलोको भन्दा बढी रहेको पाइएको छ । हिजो प्रणालीमा २ करोड २९ लाख ४९ हजार युनिट बिजुली खपत भयो । कूल खपत बिजुलीमध्ये निजी क्षेत्रको आपूर्ति मात्रै एक करोड २० लाख युनिट थियो ।
त्यसैगरी भारतबाट १५ लाख २७ हजार युनिट आयात भएको थियो । ऊर्जा खपतका हिसाबले भारतबाट आयात गरिएको बिजुली कम हो । तर विद्युत् शक्तिका हिसाबले २७० मेगावाट देखिए पनि कम समयका लागि खपत र आयात भएकाले ऊर्जामा थोरै भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया