जलविद्युत्को उपयोग बढाउन मन्त्री भुसालको आग्रह
फाइल फोटो
पर्सा - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकी छिन् ।
मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गरिन् ।
नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उनले आग्रह गरिन् ।
`भान्सा होस वा बाहन होस, सिँचाइका लागि होस वा उद्योगका लागि । इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ`, उनले भनिन् ।
शहीद परिवारलाई तीन लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो ।
कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र एक लाखको चेक हस्तान्तरण गरिन् ।
शहीद परिवारलाई प्रतिमहिना तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उनले जानकारी दिइन् ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया