ऊर्जा

ऊर्जा मन्त्रीले गरिन् न्यू बुटवल २२० केभीको सवस्टेशन उद्घाटन

इकागज |
चैत ३, २०७८ बिहीबार १८:२७ बजे

सुनवल (नवलपरासी) : विगत सरकारका पालामा लगानी तथा ठेक्का सम्झौता भई यो सरकारका पालामा आएर तयार भएका पूर्वाधारहरु धमाधम उद्घाटन भइरहेका छन् । ऊर्जा मन्त्रीले तराईका जिल्लामा सम्पन्न भएका विद्युत् सवस्टेशनहरु धमाधम उद्घाटन गर्दै आएकी छिन् भने प्रधानमन्त्रीले पर्सी न्यू खिम्ती सवस्टेशनको उद्घाटन गर्दै छन् । 

नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०-१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन ऊर्जा मन्त्री पम्पा भुसालले आज बिहीबार गरिन् ।
मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो । 
उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।


रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन् । ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए ।

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताए । उनले ऊर्जालाई प्रतिस्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत हब बन्न सक्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३-११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागे जति विद्युत उपलब्ध गराइरहेको यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे ।

एसियाली विकास बैक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख  रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । उनले  स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताए ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । 

नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नोभेम्बर २०१७ मा करिब एक अर्ब आठ करोड रुपैयाँमा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नोभेम्बर २०२१ मा सम्पन्न भएको थियो ।

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि  न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिघा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसन पछिको  दोस्रो ठूलो विद्युत् हब बन्नेछ । 

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ । बर्दबाट–न्यू बुटवल  २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ । 


Author

थप समाचार
x