मेवा डेभलपर्स र एचआइडीसीयलबीच लगानी सम्झौता
काठमाडौँ- ऊर्जा डेभलपमेन्टको सम्बद्ध संस्था मेवा डेभलपमेन्ट लिमिटेडले ताप्लेजुङ जिल्लामा निर्माण गरिरहेको मध्य मेवा जलविद्युत आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसिएल) ले २० प्रतिनिधि इक्विटी लगानी गर्ने भएको छ ।
मेवा डेभलपर्स र हाइड्रो-इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबीच सो सम्बन्धी सम्झौता (सेयर सब्स्कृप्सन एण्ड सेयर होल्डरर्स एग्रिमेन्ट) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा निर्माणको चरणमा रहेको मध्य मेवा सुख्खा याममा ६ घण्टासम्म पिकिङ रनअफ रभर (पिआरओआर) प्रारुपमा सञ्चालन गर्न सकिने आयोजना होे ।
उक्त आयोजना ४९ मेगावाट जडित क्षमताबाट वृद्धि भई ७३.५ मेगावाट क्षमताको हुने भएको छ । अक्टोबर २०२३ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाले निर्माण सम्पन्न भएपश्चात वार्षिक ४३२ गिगावाट–घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्नेछ ।
कार्यक्रममा बोल्दै हाइड्रो-इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसिएल)को प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले सार्वजनिक–नीजि सहकार्यको अवधारणा अनुरुप मेवा डेभलपर्स र एचआइडीसिएल को सहकार्यमा नीजि क्षेत्रसँग जलविद्युत विकास गर्ने कार्यको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दै मेवा डेभलपर्सले एचआइडीसिएल प्रति गरेको विश्वासका लागि आभार प्रकट गरे ।
यस आयोजनाबाट शुरु भएको सहकार्यले एचआइडीसिएल र ऊर्जा डेभलपर्ससँग सम्बद्ध भई जलविद्युत क्षेत्रमा. थप सहकार्य गर्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै आयोजना निर्माणको कार्य समयभित्र सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे । साथै, आयोजना विकाससँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरूमा सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यसैगरी, मेवा डेभलपर्सका अध्यक्ष विजय बहादुर राजभण्डारीले कम्पनीको उद्देश्य अनुरुप आयोजनाको निर्माण कार्य सुचारु भइरहेको र उच्च गुणस्तर कायम गर्दै निर्धारित समयभित्र आयोजनाको निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाए । उनले जलविद्युत आयोजनाको दीगो विकास गर्ने उर्जा डेभलपर्सको उद्देश्यमा एचआइडीसिएल को स्वपूँजी लगानीले सार्वजनिक–नीजि अवधारणामा आगामी दिनहरुमा ठूला जलविद्युत आयोजनाहरुमा सहकार्य गर्न उत्साह प्रदान गरेको बताउँदै सोका लागि एचआइडीसिएल प्रति आभार व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री माननीय बसन्त कुमार नेम्वाङले सार्वजनिक–निजी अवधारणामा मेवा डेभलपर्स र एचआइडीसिएलले नयाँ शुरुवात गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस आयोजनाको सफलताप्रति आफु विश्वस्त रहेको बताए । साथै, एचआइडीसिएलले तमोर नदीमा पहिचान गरेका अन्य आयोजनाहरू पनि छिटो सम्पन्न गर्ने आशा व्यक्त गर्दैे सोका लागि आफनो तर्फबाट सम्पूर्ण सहयोग प्रदान गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया