ऊर्जा

३६ लाख ९० हजार युनिट बिजुली अपुग

इकागज |
चैत १६, २०७८ बुधबार १९:४५ बजे

काठमाडौं – भारतीय प्रतिस्पर्धी ऊर्जा बजार (आईआईएक्स) मा आपूर्ति अभाव भइरहेका बेला नेपालको प्रणालीमा भने ३६ लाख ९० हजार युनिट बिजुली अपुग भएको छ ।

विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार यतिबेला देशमा कूल ३ करोड २० लाख युनिट बिजुलीको माग छ । आपूर्ति भने जम्मा २ करोड ८३ लाख १० हजार युनिट रहेको केन्द्रका निर्देशक सुरेश भट्टराईले बताए ।


प्राधिकरणका आफ्नै विद्युत् गृहबाट ८६ लाख ८७ हजार युनिट उत्पादन भइरहेको छ । प्राधिकरणको सहायक कम्पनीबाट ४६ लाख ५२ हजार युनिट र निजी क्षेत्रबाट ७२ लाख १३ हजार युनिट आपूर्ति भएको भट्टराईको भनाइ थियो । ‘करिब ३६९० मेगावाट घण्टा बिजुली आपूर्ति हुन सकेको छैन,’ भट्टराइले इकागजसँग भने ।

प्राधिकरणले हिजो राति गरेको बिडिङ (प्रतिस्पर्धा) ३६ लाख युनिट बिजुली मात्र पाएको थियो । प्राधिरकणले ५५ लाख युनिटका लागि बिड गरेको थियो । आईआईएक्समा हिजो औसत मूल्य प्रतियुनिट १० भारु (१६ रुपैयाँ) थियो भने अधिकतम दर १८ भारु (२८ रुपैयाँ ८० पैसा) थियो । ‘हामीले माग गरेको क्वान्टम (परिमाण) नै पाइएन,’ भट्टराईले भने, ‘यसको मुख्य कारण भारतमै बिजुली अभाव भएर हो, बिहारले पनि यही एक्सचेञ्जबाट खरिद गर्छ ।’

भट्टराईले कम बिजुली आएका कारण औद्योगिक फिडर, ३३ केभी र १३२ केभीका औद्येगि ग्राहकलाई १२ देखि १४ घण्टासम्म बिजुली आपूर्ति गर्न सकिएको बताए । 
नेपालको पूर्व–पश्चिम विद्युत राजमार्ग (प्रसारण लाइन) नभएका कारण ढल्केबरबाट आएको बिजुली रक्सौल (बीरगञ्ज) र रामनगर (भैरहवा) आपूर्ति गर्न नसकिएको भट्टराई बताउँछन् । ढल्केबरदेखि तलतिर १३२ केभीको मात्र प्रसारण लाइन छ । यो लाइनले बढीमा सय मेगावाट बिजुली बोक्छ, त्यो पनि एकनासले होइन ।

इनरुवादेखि हेटौंडासम्म र हेटौंडादेखि भरतपुर हुँदै बर्दघाटसम्म क्रमशः ४०० केभी र २२० केभीका प्रसारण लाइन निर्माणाधीन छन् । यी लाइनमा विशेष गरेर स्थानीय वासिन्दाका अवरोध, राजनीतिक दलका केही नेताका अवरोधदेखि सर्वाेच्च अदालतले काम नगर्नू भनी दिएको आदेशका कारण पूरा हुन सकेका छैनन् । ‘४०० केभीको लाइन भइदिएको भए एक हजार मेगावाटसम्म प्रवाह गर्न सकिन्थ्यो,’ भट्टराईले भने, ‘अहिले उद्योगहरुले बिजुली नपाउने भन्ने समस्यै हुँदैनथ्यो ।’

प्राधिकरणले भारतसँग प्रतिस्पर्धाबाट, ऊर्जा आदान–प्रदान र खरिद सम्झौता अन्तर्गत तीन प्रकारले विद्युत् आयात गर्दै आइरहेको छ । भारतीय ऊर्जा बजार (आईआईएक्स) मा एक दिनअघि नै बिडिङ गर्नुपर्ने हुँदा भारतमै उच्च माग भएकाले २० भारु प्रतियुनिटमा कबोल गर्दा पनि माग अनुसारको बिजुली नपाउँदा आपूर्तिमा समस्या देखिएको प्राधिकरणले जनाउँदै आएको छ ।

त्यसैगरी भारत आफैमा ऊर्जा संकट झेलिरहेका कारण उसले विद्युत् खरिद सम्झौता र आदान प्रदानबाट दिन नसकिने जनाउ एक महिनाअघि नै दिइसकेको थियो । उता टनकपुरबाट सिंत्तैमा आउन १६ मेगावाट बिजुली बाहेक प्राधिकरणले प्रतियुनिट ४.१२ भारु तिरेर ल्याउने बिजुली पनि ठप्प छ । 

दिउँसोको समयमा बिहारले २९० मेगावाटसम्म बिजुली दिएको प्राधिकरणले जनाएको छ । बिहारमा सौर्य ऊर्जाको मात्रा ज्यादा रहेकाले घाम लागेका बेला नेपाललाई दिंदै आएको छ । आफ्नो ठाउँमा लोडसेडिङ भए पनि बिहारले नेपाललाई बिजुली दिंदा तत्काल नगद भुक्तानी पाइने भएकाले दिएको हो । 
 


Author

थप समाचार
x