ऊर्जा

केयु र ईप्पानबीच जलविद्युत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

इकागज |
चैत २०, २०७८ आइतबार १५:३ बजे

काठमाडौँ - काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) बीच जलविद्युत र हाइड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा केयु र इप्पानबीच जलविद्युत र हाइड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ को अवसर पारेर दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतामा ग्रीन हाइड्रोजनबाट कार्बन उत्सर्जन घटाउने र देशमै इलेक्ट्रोमेकानिकल कम्पोनेन्टहरुको डिजाइन, मर्मत सम्भार गर्ने सेन्टरको स्थापना गर्ने विषय उल्लेख छ ।


सम्झौता पत्रमा काठमाण्डौ विद्यालयलयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्राध्यापक डाक्टर मनिष पोखरेल र इप्पानका अध्यक्ष कृष्ण आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा केयुको तर्फबाट टर्बाइन टेष्टिङका फ्याकल्टी इन्चार्ज डाक्टर शैलेश चित्रकार, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र इन्जिनियर लक्ष्मण लामा सहभागी थिए ।

हाइड्रोजन निकाल्नका लागि यो सम्झौता कोशेढुंगा सावित हुने केयुका ग्रीन हाइड्रोजन ल्याब इन्चार्ज प्राध्यापक डा विराज सिं थापाले बताए ।  डा थापाले यो सम्झौता निकै महत्वपूर्ण रहेको बताए ।  विद्युत उत्पादन गर्ने संस्थासँगै भएको सम्झौताले ठूलो अर्थ राख्ने उनको भनाइ थियो ।

‘हाइड्रोजन उत्पादनका लागि विद्युत आवश्यक पर्छ । विद्युत उत्पादन गरिरहेको नीजि क्षेत्रसँगको सम्झौताले हाइड्रोजनका बारे थप अध्ययन, अनुसन्धान र उत्पादन गर्न हौसला मिल्नेको छ । सरकारले कानुन, नीति र नियम बनाइदिने हो । नीजि क्षेत्रले नै हो उत्पादन गर्ने र बिक्री गर्ने । त्यहि भएर यो सम्झौताले हाइड्रोजन उत्पादन र बिक्री वितरणका लागि समेत निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ । डाक्टर थापाले भने ।

केयुका टर्बाइन टेष्टिङका फ्याकल्टी इन्चार्ज डाक्टर शैलेश चित्रकारले यो सम्झौतापछि नेपालका जलविद्युत आयोजनाहरुको टर्वाइनमा देखा पर्ने समस्या समाधान गर्नका लागि थप मद्दत पुग्ने बताए ।

‘बालुवाका कारण नेपालका खास गरी पुरानो जलविद्युत आयोजनाका टर्वाइनमार्फत समय अगावै खिइ रहेका छन् । जसका कारण छिटो छिटो समयमै मर्मतसम्भार गर्नु परेको छ । तर हामीले नियमति यी आयोजनामा प्रयोग भएका मेसिन जाँच गर्ने हो भने समस्या कम आउँछ । त्यसो गर्दा आयोजनालाई खर्च भार पनि कम हुन्छ । पुरानो विद्युत गृहहरूमा नयाँ प्राविधि जडान गरेर खिया लाग्ने समस्याबाट जोगाउने यो सम्झौताको मुख्य उद्देश्य हो’ चित्रकारले भने ।

केयुका प्राज्ञिक औद्योगिक संयोजक डा राम लामाले जलविद्युत र हरित हाइड्रोजनको उत्पादन गर्दै औद्योगिकिकरण माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउँदै उर्जामा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए ।


Author

थप समाचार
x