पग्लेको हिउँले १०६.४९ प्रतिशत बढी बिजुली उत्पादन
काठमाडौं – विश्व तापमान वृद्धिको असरस्वरुप असमयमै हिउँ पग्लन थालेपछि मुलुकको जलविद्युत् ऊर्जा उत्पादन गत वर्षको तुलनामा १०६.४९ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत २०७७ चैत १८ गते प्राधिकरण र निजी क्षेत्र गरी कूल एक लाख ६१ हजार ७९० मेगावाट आवर (१६ करोड १७ लाख ९० हजार युनिट) बिजुली उत्पादन भएको थियो । यो वर्ष २०७८ को चैत १८ को तथ्यांकअनुसार प्राधिकरण र निजी गरी कूल ३ लाख ३४ हजार ९७ मेगावाट आवर (३३ करोड ४० लाख ८७ हजार युनिट) उत्पादन भयो । गत वर्षको तुलनामा यो १०६.४९ प्रतिशतले बढी हो ।
देशकै दोस्रो ठूलो कालीगण्डकी ‘ए’ (१४४ मेगावाट क्षमता) ले गत वर्षको तुलनामा ८१.८६ प्रतिशत बिजुली उत्पादन गरेको प्राधिकरणको तथ्यांकबाट देखिन्छ । कालीगण्डकी ‘ए’ ले पोहोर चैत १८ गते २२ हजार ५०७ मेगावाट घण्टा (२ करोड २५ लाख ७ हजार युनिट) गरेको थियो । यही चैत १८ गते कालीगण्डकीले ४० हजार ९ सय ३३ मेगावाट घण्टा (४ करोड ९ लाख ३३ हजार युनिट) उत्पादन गरेको थियो ।
क्षमताका हिसाबले गत चैत १८ गते कालीगण्डकी ‘ए’ ले जम्मा ५२ मेगावाट मात्र उत्पादन गरेको थियो भने गत चैत १८ गते यसले ९५ मेगावाट उत्पादन गरेको छ । पोहोरको तुलनामा यसपालि कालीगण्डकीले क्षमताका हिसाबमा ८२.६९ प्रतिशतले बढी हो । त्यसैगरी प्राधिकरणको मध्य मर्स्याङ्दी (७० मेगावाट जडित क्षमता) ले पनि यसपालि रेकर्ड ब्रेक गरेको छ । गत वर्षको चैत १८ गते मध्य मस्याङ्दीले १० हजार ९ सय ९३ मेगावाट घण्टा उत्पादन गरेको थियो । यसपालि चैत १८ गतेको तथ्यांक हेर्दा मध्य मर्स्याङ्दीले ८०.३० प्रतिशत बढी अर्थात् १९ हजार ८ सय २१ मेगावाट घण्टा उत्पादन गरेको छ ।
पिकिङ रन अफ रिभर (पीआरओआर) एवं अर्धजलाशययुक्त मध्य मर्स्याङ्दीले गत सालको चैत १८ गते जम्मा २५ मेगावाट मात्र बिजुली उत्पादन गरेको थियो । यतिखेर यो विद्युत् गृहबाट ४६ मेगावाट उत्पादन भइरहेको छ । यो गत वर्षको तुलनामा ८४ प्रतिशत बढी हो । त्यसैगरी तल्लो मर्स्याङ्दी (६९ मेगावाट जडित क्षमता) ले पनि यसपालि ६३.९१ प्रतिशत बढी ऊर्जा उत्पादन गरेको छ । गत २०७७ को चैत १८ मा तल्लो मर्स्याङ्दीले १२ हजार ३ सय २२ मेगावाट घण्टा उत्पादन गर्न सकेकोमा यसपालिको गत चैत १८ मा २० हजार १ सय ९७ मेगावाट घण्टा उत्पादन गरेको हो ।
विद्युत्का हिसाबले मर्स्याङ्दीले २०७७ चैत १८ मा २९ मेगावाट बिजुली उत्पादन गरेको थियो । यसपालिको चैत १८ गते ४७ मेगावाट उत्पादन गरेको छ, जुन ६२ प्रतिशत बढी हो । प्राधिकरणकै स्वामित्व रहेको माथिल्लो त्रिशुली थ्री ‘ए’ (जडित क्षमता ६० मेगावाट) ले जडित क्षमता अनुसार नै बिजुली उत्पादन गरेको छ । गत वर्षको चैत १८ गते जम्मा ३२ मेगावाट मात्र उत्पादन गरेको यो आयोजनाले यसपालि चैत १८ गते भने ५८ मेगावाट उत्पादन गरेको छ । यति गरेर पनि अरु ४०, ५० मेगावाट उत्पादन गर्न पुग्ने पानी खेर गइरहेको छ ।
ऊर्जाको हिसाबमा भने माथिल्लो त्रिशुली थ्री ‘ए’ ले गत वर्षको तुलनामा ८२ प्रतिशत बढी ऊर्जा उत्पादन गरेको प्राधिकरणले जनाएको छ । गत वर्ष १३ हजार ८ सय एक मेगावाट घण्टा बिजुली उत्पादन गरेको माथिल्लो त्रिशुली थ्री ए’ ले यसपालि सोही दिन २५ हजार एक सय २८ मेगावाट घण्टा बिजुली उतपादन गरेको छ ।
यसैगरी चमेलिया (जडित क्षमता ३० मेगावाट) २०७७ को चैत १८ गते जम्मा ८ मेगावाट उत्पादन गरेकोमा यसपालि १५ मेगावाट पु¥याएको छ । ऊर्जाका हिसाबले पनि तीन हजार तीन सय ४९ मेगावाट घण्टा गत वर्ष उत्पादन भएको चमेलियाको यसपालि ६ हजार ५ सय तीन मेगावाट घण्टा पुग्यो । यो ९४ प्रतिशतले बढी हो ।
यसैगरी त्रिशुली (२४ मेगावाट), देवीघाट (१४.१ मेगावाट), सुनकोसी (१०.५ मेगावाट), मोदी (१४ मेगावाट) को पनि उत्पादन वृद्धि भएको प्राधिकरणले जनाएको छ । पुवा (६.२ मेगावाट), सेती (१.५ मेगावाट) को उत्पादनमा तलमाथि भएको छैन भने गण्डक (१५ मेगावाट) मा पानी अभावका कारण यतिखेर २ मेगावाट मात्र उत्पादन भएको छ ।
प्राधिकरणको मात्र होइन, उसका सहायक कम्पनी र निजी क्षेत्रले सञ्चालन गरेका विद्युत् गृहबाट पनि अधिक ऊर्जा उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोसी (४५६ मेगावाट) ले मात्रै गत चैत १८ गते ५१ हजार ५ सय ५० मेगावाट घण्टा (५ करोड १५ लाख ५० हजार युनिट) बिजुली उत्पादन ग¥यो । गत असारदेखि सञ्चालनमा आएको माथिल्लो तामाकोसीले विद्युत् भने ११९ मेगावाट उत्पादन गरेको प्राधिकरणको तथ्यांकमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया