ऊर्जा

उद्योगमा अघोषित लोडसेडिङ

पूर्वी क्षेत्रका उद्योगहरूमा ५ दिनदेखि विद्युत आपूर्ति ठप्प

अघोषित लोडसेडिङले राज्यलाई अर्बौ नोक्सानी

इकागज |
बैशाख १७, २०७९ शनिबार १९:३७ बजे

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले ५ दिनदेखि विद्युत कटौती गर्दा पूर्वी तथा मध्य नेपालका उद्योगहरू प्रभावित भएका छन् । भारतले बिजुली नदिएको भन्दै औद्योगिक क्षेत्रमा विद्युत प्राधिकरणले विद्युत कटौती सुरु गरेको हाे । निरन्तरको अघोषित लोडसेडिङले कोभिड-१९ बाट उठ्दै गरेका उद्योगहरू प्रभावित भएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरायसी प्रयोजनका विद्युत कटौती गर्दा यसले जनतामा नकारात्मक असर पार्ने देखेपछि सरकारले औद्योगिक क्षेत्रमा विद्युत कटौती गरेको छ। सरकारको मातहतमा रहेको नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याएर अन्त्य गरेको लोडसेडिङ रूस-युक्रेन युद्धसँगै सुरु भएको कोइला अभावले भारतमा नै चरम विद्युत समस्या भएपछि नेपालमा आपूर्ति बन्द भएको छ। जसको मारमा नेपालका उद्योगहरू परेका छन् । विदेशी मुद्रा सञ्चितिका लागि विभिन्न वस्तुहरूको आयात बन्द गरेको सरकारले यसका नेपालमा उत्पादन हुने वस्तुहरूलाई समेत विद्युत कटौती गरेपछि यसले उपभोग्य सामानको समेत संकट हुने देखिएको छ।


वैशाख १४ गते विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा ऊर्जा संकट चुलिएकाले नेपालमा विद्युत दिन नसक्ने भएको हुँदा अबको केही समय उद्योगहरूमा विद्युत कटौती हुने बताएका थिए। त्यसअघि अघोषित रूपमा रहेको विद्युत कटौती बिहीबारबाट भने तालिका नै निकालेर कटौतीमा प्राधिकरण पुगेको थियो। तर, तालिका निकालेर विद्युत कटौती गर्ने भनेपनि हालसम्म तालिका बिना नै कटौती भएपछि उद्योगहरू समस्यामा परेका छन्।

विद्युत अपुग भएपछि प्राधिकरणले उद्योगहरूमा कटौती गरेर घरायसी प्रयोगकर्तालाई दिँदा यसबाट राज्यलाई अर्बौ रूपैयाँ नोक्सानी बेहोर्नुपर्ने अर्थविद्हरू बताउँछन्।

मोरङका उद्योगहरूमा ३ दिनदेखि लगातार विद्युत कटौती भएको उद्योग संघ मोरङले जनाएको छ। करिब १ महिनादेखि १२ देखि १४ घण्टासम्म रहेको विद्युत कटौती हाल २४ सै घण्टा पुगेको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक पवनकुमार गोल्यान बताउँछन् । प्राधिकरणले बिना तालिका आफ्ना उद्योगहरूमा २४ सै घण्टा विद्युत कटौती सुरु गरेको गोल्यान बताउँछन्। 'मोरङ औद्योगिक करिडोरमा ५० हजार कामदारले रोजगारी पाइरहेका छन् उनीहरूको रोजगारी गयो भने को जिम्मेवार हुने' गोल्यानले भने । विद्युत कटौतीले राजस्वमा गम्भीर असर पर्ने गोल्यान बताउँछन्। 'एउटा संस्थाले नाफा कमाएर देश चल्छ' उनले भने ।

करिब १ महिनादेखि अघोषित रूपमा १२ देखि १४ घण्टासम्म रहेको विद्युत कटौती हाल भने २४ घण्टामै पुगेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा उद्योग संघ मोरङका पुर्व अध्यक्ष अविनास बोहराले बताए। ' करिव एक महिनादेखि अघोषित रूपमा रहँदै आएको विद्युत कटौती हाल २४ सै घण्टा पुगेको छ' उनले भने   '२४ सै घण्टा विद्युत कटौती हुन थालेको ५ दिन भइसक्यो दैनिक आधा घण्टा देखि १ घण्टा मात्रै बिजुली आउँछ' उनले भने ।

त्यस्तै रुपन्देहीका उद्योगहरूमा पनि २४ सै घण्टा अघोषित रूपमा विद्युत कटौती सुरु भएको छ। रूपन्देहीका उद्योगहरूमा पनि प्राधिकरणले विद्युत आपूर्ति ठप्प पारेको छ। केही समयअघिदेखि दैनिक १२ घण्टासम्म जाने गरेको बिजुली बिहीबारदेखि २४ सै घण्टा भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङ लगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द सरह रहेको न्यौपानेले बताउँछन् ।

विगत केही दिनको विद्युत अनियमितता र उपकरण नचलाउने भनि अघोषित लोडसेडिङले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रेको, बजारमा उत्पादनको अभाव सृजना, मूल्यवृद्धिको डर, मुद्रा सञ्चित न्यून भएको बेला डिजेल किन्न डलर बाहिरिएको अवस्था लगायतका नोक्सानी देशले व्यहोर्नु पर्ने अवस्था आएको  न्यौपानेले बताए । 

औद्योगिक करिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखा यसलाई बेरुजुमा देखाउने गरेको, लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सिमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सृजना नहुने उद्योगी व्यवसायीहरूको गुनासो छ ।

उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा आए पनि अहिले त्यो पनि नआएकोले अघोषित रूपमा लोडसेडिङ नै छ । जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । रुपन्देहीको लुम्बिनी करिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेका छन् ।

'देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं ।' उनले भने । बुधबारबाट लोडसेडिङको तालिका आउँदै छ भन्ने जानकारी आए पनि हालसम्म ब्ल्याक आउटमै उद्योग रहेकाे न्यौपाने बताउँछन्।

पूर्वी क्षेत्रमा विद्युत कटौती भएपनि पश्चिम क्षेत्रमा सञ्चालित उद्योगहरूमा भने समस्या नरहेको त्यहाँका उद्योगीहरूले जानकारी दिएका छन् । सुदूरपश्चिममा सञ्चालित उद्योगहरूमा विद्युत नियमित रहेको राजर्षि मिलका सञ्चालक तथा कैलाली उद्योग बाणिज्य संघका सदस्य मनोज अग्रवालले जानकारी दिए ।


Author

थप समाचार
x