ऊर्जा

भारतबाट थप १५० मेगावाट बिजुली

प्रतियुनिट २४.१८ मा किनेर उद्योगलाई ९ रुपैयाँमा

विकास थापा |
बैशाख २१, २०७९ बुधबार १९:५४ बजे

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई प्रतियुनिट २४ रुपैयाँ १८ पैसामा भारतबाट बिजुली किनेर दिन सुरु गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको हिजो बसेको बैठकले भारतको एनभीभीएनसँग ३ सय मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरण र एनभीभीएनबीच आगामी जून १५ र आवश्यकता परे त्यसपछि पनि थप ३०० मेगावाट बिजुली खरिद गर्ने अतिरिक्त सम्झौता भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए ।


उनका अनुसार हाल एनभीभीएनले भारतका ऊर्जा उत्पादकहरुसँग १५० मेगावाट बिजुली मात्र खरिद गर्न सक्ने जनाउ दिएकाले हिजो राति १२ बजेदेखि १५० मेगावाट बिजुली नेपाल भित्रिएको र त्यो बिजुली उद्योगहरुलाई दिन थालिएको हो ।

भारतीय ऊर्जा दलाल कम्पनी एनभीभीएनले भारतीय ऊर्जा बजार (आईआईएक्स) बाट बिजुली किनेर नेपाल विद्युत् प्राधिकरणलाई आपूर्ति गर्दै आएको छ । ऊर्जा बजारमा प्राधिकरणले कम्तीमा ४० र बढीमा १०० मेगावाटभन्दा बढी बिजुली नपाएपछि उद्योगहरुमा आपूर्ति कटौती गरेको थियो । 

सचिव कार्कीका अनुसार भारतीय ऊर्जा बजारमा उल्लिखित १२ रुपैयाँ (भारु) मा एनभीभीएनले प्राधिकरणलाई मुजफ्फपुरसम्म उपलब्ध गराउँछ । त्यसमा मुजफ्फपुरदेखि ढल्केबरसम्म आइपुग्दा प्रसारण शुल्क, चुहावट सबै गर्दा एक युनिट बिजुलीको प्रतियुनिट २४.१८ पैसा पर्छ ।

प्राधिकरणले उद्योगहरुलाई औसत प्रतियुनिट ९ रुपैयाँमा बेच्दै आएको छ । यसरी अतिरिक्त आयातीत बिजुलीबाट प्राधिकरणलाई एक युनिटमा १५ रुपैयाँ १८ पैसा घाटा पर्छ । मे (वैशाख–जेठ) महिनाका लागि मात्र प्राधिकरणलाई सवा अर्ब रुपैयाँ घाटा पर्ने देखिएको छ ।

एनभीभीएनले तीन सय मेगावाट बिजुली उपलब्ध गराउने हो भने प्राधिकरणलाई मासिक साढे दुई अर्ब रुपयाँ घाटा पर्ने प्राधिकरणका एक अधिकारीले बताए । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले आईआईएक्समा प्रतियुनिट १२ रुपैयाँ (भारु) भन्दा बढी असुल्न नपाइने निर्देशन दिएपछि प्राधिकरणले माग गरेको बिजुली पाउन छाडेको हो । एनभीभीएनले पनि आईआईएक्सकै दरमा प्राधिकरणलाई उपलब्ध गराएको हो ।

भारतीय ऊर्जा उत्पादकले आईआईएक्समा बिजुली नदिई सिधै एनभीभीएनलाई दिएको र त्यो बिजुली प्राधिकरणलाई दिएको हो । केही सातायता भारतमा बिजुली उत्पादन गर्ने कच्चा पदार्थ कोइलाको अभाव भएका कारण त्यहाँ बिजुली उत्पादनमा व्यापक कटौती भएको छ । भारतमा दुई तिहाई बिजुली (करिब एक लाख २० हजार मेगावाट) कोइलाबाट उत्पादन हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य चार गुणा महँगिएको, कोल कम्पनीलाई बिजुली उत्पादकहरुले समयमै भुक्तानी गर्न नसकेको कारणबाट कोइला उत्पादनमा ह«ास आएको कारण भारतमा ऊर्जा संकट गहिरिएको हो । 

भारतले नेपालसँग सम्झौता (पीपीए) गरेको बिजुली समेत नदिएपछि नेपालमा करिब तीन सय मेगावाट बिजुली अभाव हुन पुगेको हो । चुनावका मुखमा गार्हस्थ्य (मतदाता) ग्राहकसहित उद्योगमा समानान्तर र समान रुपले आपूर्ति कटौती गर्दा सरकारले चुनाव हार्ने भयका कारण महँगोमा किनेर सस्तोमा बेचिएको हो ।

भारतसँग यसरी महँगोमा बिजुली किनेर पूर्वका उद्योगहरुमा आपूर्ति सुनिश्चित बनाउने प्रयास गरिएको छ भने उता वीरगञ्ज र ढल्केबरबाट आउने बिजुली प्रसारण लाइन नभएका कारण औद्योगिक शहर बुटबलमा पुग्दैन । 

नवलपरासीको दुम्कीवासस्थित ४०० केभीको प्रसारण लाइनको एउटा टावर गाड्न स्थानीयले र सर्वाेच्च अदालतले रोक लगाएका छन् । १३२ केभीको प्रसारण लाइनमा सय मेगावाटभन्दा बढी बिजुली प्रवाह नहुने भएकाले २२० केभीको बनाउन थालिएको थियो । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x