उद्यम

उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

इकागज |
मंसिर २२, २०७९ बिहीबार १६:४९ बजे

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरूका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै उद्योगी व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् । उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरूका समस्या समाधानका लागि निजी क्षेत्र,राष्ट्र बैंक,वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको उल्लेख गरे ।


अर्थमन्त्री शर्माले मन्त्री परिषदमा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको जिकिर गरे । उद्योगी व्यवसायीहरूले सडक रोज्नु नहुने भन्दै सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने उनकाे भनाइ छ । उनले सरकार व्यवसायीहरूका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरूले सडक रोज्न नहुने धारणा व्यक्त गरे ।

मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरूको काम नभएको बताए । उनले बैंकको ब्याजदर वृद्धि,चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको पनि जानकारी दिए । उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए ।

उनले व्यवसायीहरूले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे । 


Author

थप समाचार
x