उद्यम

माटोका भाँडा नबिक्दा पेसा संकटमा

इकागज |
मंसिर २५, २०७९ आइतबार १४:४४ बजे

फाइल फोटो

भालुवाङ - कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे ।

अहिले त्यस्तो समय छैन । माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले बिस्थापित गरेका छन् । बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ । 


बजारमा प्लास्ष्टिकका भाँडा बढ्न थालेपछि रेशम कुमालले तीन महिनाअघि तयार पारेका माटोका भाँडा घरको पिँढीमा थन्किएका छन् । `यी अहिले बिक्री हुन नसकेका भाँडा हुन्`, उनले भने, `घरभित्र राख्ने ठाउँ पनि छैन पानीले भिजायो भने मेहनत खेर जान्छ ।`

बजारमा प्लास्टिकका आयातित सामान सहजै पाउन थालेपछि आफूहरुले बनाएका माटोका भाँडा बिक्न छाडेको दाङ गढवा–५ का धनराज कुमालले गुनासो गरे । लामो समयदेखि माटोका भाँडा बनाएर जीविका चलाउँदै आएका उनले भाँडा बिक्न छोडेपछि घर खर्च चलाउनै समस्या भएको बताए । 

यस क्षेत्रमा कुमाल समुदायका करिब दुई सय घरधुरी छन् । जसको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । माटोका भाँडाको तुलनामा प्लास्टिकका भाँडा सस्तो र टिकाउन हुने भएकाले प्रयोग बढ्न थालेको हो । 

`न लेख–पढ गर्न सकियो न अन्य कुनै काम सिक्न सकियो,` गढवा–६ का चौकु कुमालले भने, `समूदायको पुख्र्यौली पेसा अपनाइयो तर अहिले यसबाट सोच जस्तो पैसा कमाउन सकिएको छैन ।`

त्यति मात्रै होइन, माटोका भाँडा बजारसम्म लैजाँदा बिचौलियाको समस्या पनि उत्तिकै छ । कुमालहरुले मट्का रु दुई सयदेखि दुई सय ५०, ठेकी रु एक सयदेखि डेढ सयसम्म, गमला रु एक सयसम्म, खुत्रुके रु ५० देखि एक सयसम्म बिक्री गर्छन् । तर त्यसमा पनि बिचौलियाका कारण कुमालहरुले निकै कम प्रतिफल पाउने गरेको चौकु कुमालले गुनासो गरे ।  

एकातिर माटोको भाँडाले बजार पाएका छैनन् भने अर्कोतिर पुख्र्यौली पेसा ओझेलमा परेकोमा उनीहरुमा चिन्ता छ । `युवापुस्ता पनि यो पेसामा मन लगाउँदैनन्, उनीहरु यो काम गर्नुभन्दा जिल्ला बाहिर गएर काम गर्न मन पराउछन्`, स्थानीय अम्मर कुमालले भने । 

कुमाल समुदायको आर्थिक स्थिति सबल गराउने भन्दै केही समयअघि ‘स्वच्छ व्यवसाय समूह नेपाल’ले तीन महिने माटोको भाँडा बनाउने तालिम दिएको थियो । तालिममा झण्डै तीस जना कुमाल समुदायका व्यक्ति सहभागी थिए । संस्थाले उनीहरुलाई सीप सिकाउनुका साथै भाँडालाई पोल्न आधुनिक भट्टा निर्माणका लागि रु नौ लाख सहयोग गरेको थियो । 

कुमालहरुको पुख्र्यौली पेसालाई संरक्षण र सम्बर्द्धनका लागि स्थानीय सरकारले चासो दिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताए । `उहाँहरुको पेसालाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिका योजना बनाएर अघि बढ्छ`, उनले भने, `यो पेसालाई जोगाइराख्न माटोको भाँडालाई बजारीकरण गर्ने, माटो र दाउरा सहजरुपमा उपलब्ध गराउन सहयोग गर्नेछौँ ।` रासस


Author

थप समाचार
x