उद्यम

अर्थमन्त्री पौडेलसँगको वार्तापछि उद्योगी व्यवसायीले भने - अर्थतन्त्र सुधार हुनेमा उत्साहित भएका छौं

बाबुराम भण्डारी |
पुस १३, २०७९ बुधबार १७:४३ बजे

विराटनगर - चर्को व्याजदरविरुद्ध जारी आन्दोलन स्थगित गरेर सरकारसँग वार्ताका लागि काठमाडौं पुगेका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री बिष्णु पौडेलसँग भएको पहिलो चरणको वार्ता निकै सकारात्मक भएको बताएका छन् । बुधबार दिउँसो अर्थमन्त्रालयमा भएको वार्तापछि आफूहरु मुलुकको अर्थतन्त्र सुधार हुने कुरामा उत्साहित बन्न सकिने भन्दै प्रतिक्रिया दिएका छन् ।

वार्ता निकै सरकारात्मक भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र निकै धरासायी भएको अवस्थामा आफुले मन्त्रालय सम्हालेको बताएका थिए । त्यसको सुधारको प्रक्रिया अघि बढाउन समय नलगाउने प्रतिवद्धता अर्थमन्त्री पौडेलले जनाएको रिजालले बताए ।


‘अर्थमन्त्रीज्यू निकै सकारात्मक रुपमा प्रस्तुत हुनु भएको पाएका छौं, उद्योगी व्यवसायीका मागहरुबारे आफु पहिलेदेखि नै बुझ्दै आएको बताउनु भएको छ, चाँडो निकासमा पुग्छौं भन्नु भएको छ’ रिजालले भने, ‘गर्भर्नरलाई समेत राखेर दोस्रो चरणमा छलफल गर्छु भन्नुभएको छ ।’

मन्त्री पौडेलले निजी क्षेत्रको माग पुरा गर्न आश्वासन दिएको उनले बताए । वार्ताका क्रममा उद्योगी व्यवसायीहरुको जारी आन्दोलन भने हाललाई बन्द गरिदिन आग्रह गरेको संघका अध्यक्ष रिजालले सुनाए । अर्थमन्त्री पौडेललाई भेटेर उद्योगी व्यवसायीहरुका तर्फबाट तयार पारिएको संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को प्रतिनिधित्व गर्दै वार्तामा सहभागी भएका पवन सारडाले आफ्नो क्षेत्रका समस्याहरु खुलस्त रुपमा अर्थमन्त्री पौडेललाई सुनाएको बताए । उनले उद्योग चलाएर बस्नुपर्ने उद्योगीहरु राज्यको नीतिका कारण आन्दोलनमा बसिरहनु परेको भन्दै ब्याजदर लगायतका बिषयलाई चाँडो सम्बोधन गर्न माग गरिएको जानकारी दिए ।

‘बैंकहरुको संरक्षण राष्ट्रबैंकले गरिदिने, बीमा कम्पनीको बिमा समितिले गरिदिने अनि हामीसँग चैं राजश्व मात्रै लिने ? यस्तो अवस्थामा हामी उद्योग व्यापार चलाउन सक्दैनौं भनेका छौं’ सारडाले भने, ‘राष्ट्रबैंकले लगाएका अनेक खालका नीति नियमहरु निजी क्षेत्रका लागि अव्यहारिक भएको गुनासो गरेका छौं, जसरीपनि ब्याजदर घट्नै पर्छ भनेका छौं ।’

उनले उद्योगी व्यवसायीहरुको समस्या बैंककै लगानीकर्ता र संचालक रहेका उद्योग बाणिज्य महासंघका मान्छेहरुका कारण समाधान हुन नसकेको भन्दै आक्रोस समेत पोखे ।
 
उद्योगी व्यवसायीहरुसँगको वार्तामा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, मन्त्रालयका अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामेश्वर दंगाल लगायतलाई सहभागी गराएका थिए । 

वार्तामा उद्योगी व्यवसायीहरुका तर्फका मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, सिएनआई प्रदेश १, विराट व्यापार संघ तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ लगायतका दर्जनौं वस्तुगत संघसंगठनका प्रतिनिधिहरु सहभागी थिए ।

उद्योगी व्यवसायीहरुले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर आफ्ना समस्याहरुबारे जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री दाहालले पनि पहिलो चरणमै निजी क्षेत्रको समस्या समाधान गर्ने आश्वासन दिएको उद्योगी व्यवसायीहरुले बताएका छन् । 

उनीहरुले प्रधानमन्त्री नै सकारात्मक देखिनु भएका कारण अब पुनः आन्दोलनमा उत्रिनु नपर्ला भन्ने लागेको प्रतिक्रिया दिएका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x