उद्यम

महसुल नतिरेपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत् काटियो

करिब आठ करोड रुपैयाँ महसुल बक्यौता भुक्तानी गर्न बाँकी

बाबुराम भण्डारी |
बैशाख ३१, २०८० आइतबार १५:० बजे

विराटनगर- गैँडा छाप ब्राण्डको सिमेन्ट उत्पादन गरिरहेको उदयपुर सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको छ । ​झण्डै आठ करोड रुपैयाँ महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकाे हाे ।

सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो यो सिमेन्ट उद्योग सञ्चालन भए यता पूर्ण क्षमतामा चल्न सकेको छैन । पूर्ण क्षमतामा नचले पनि आर्थिक वर्ष २०७७/७८ मा भने एक अर्ब १६ करोड ३२ हजार रुपैयाँ कूल आम्दानी गरी ५६ करोड रुपैयाँ बढी सञ्चित नाफा गरेको थियो । तर, उद्योगले भुक्तानी गर्नुपर्ने नियमित महसुल भुक्तानी नगरेको भन्दै आइतबारदेखि प्राधिकरणले विद्युत् लाइन काटिदिएको हो ।


नेपाल विद्युत् प्राधिकरण गाईघाट शाखाका प्रमुख विजयबाबु खत्रीले करिब पाँच महिनाको विद्युत् महसुल भुक्तानी नभएकाले आइतबार प्राधिकरणले विद्युत् लाइन काटेको जानकारी दिए । उनले महसुल वापत झण्डै आठ करोड रुपैयाँ उद्योगले तिर्न बाँकी रहेको पनि बताए ।

‘नियमित रूपमा तिर्नुपर्ने विद्युत् महसुल करिब पाँच महिनादेखि प्राप्त भएको छैन, उद्योगले महसुल नतिरेकोले आज हामीले लाइन काटेको हो,’ खत्रीले भने, ‘महसुल तिर्दै नतिरेको भन्ने होइन, आंशिक रूपमा तिर्दै भुक्तानी हुँदै आएको पनि हो तर अब चैं बक्यौता निक्कै धेरै भएकोले लाइन काट्नुपर्ने बाध्यता बनेको हो ।’

नेपाल विद्युत् प्राधिकरणको महसुल संकलन विनियमावली २०७८ को विनियम (१०) मा मिटर रिडिङ भएको ६० दिनमा महसुल नबुझाएमा विनासूचना जुनसुकै समय लाइन काटिने व्यवस्था रहेको जनाइएको छ । उद्योगको लाइन काट्नु अघि प्राधिकरण केन्द्रीय कार्यालयमा समेत जानकारी गराइएको शाखा प्रमुख खत्रीले बताए ।

उदयपुर सिमेन्ट उद्योग नेपाल सरकारको स्वामित्वको सिमेन्ट उद्योग हो । ओनोडा इन्जिनियरिङ जापानले डिजाइन गरेर कावासाकी हेभी इन्डट्रिज टोमेन कर्पोरेशन जापानले निर्माण गरेको यो उद्योग २०४४ जेठ ३१ मा स्थापित भएको थियो ।

उद्योग स्थलबाट झण्डै २७ किलोमिटर टाढा रहेको खानीबाट रोप–वेमार्फत चुनढुंगा ओसारेर आफ्नै क्लिङ्करबाट गैँडा छाप ब्राण्डको साधारण पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्दै आएको छ । उक्त खानीमा हालको उत्पादन क्षमता दैनिक आठ सय मेट्रिक टनका आधारमा आगामी तीन सय वर्षसम्मलाई पुग्ने चुनढुँगा रहेको छ । उक्त चुनढुँगामा क्याल्सियम अक्साइड दुई प्रतिशतभन्दा कम रहेकाले सिमेन्टको गुणस्तर उच्च रहेको जनाइएको छ ।

शुक्रबार मात्रै उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा उद्योगको ३५औं साधारण सभा सम्पन्न भएको थियो । साधारण सभामा महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ लाख ६७ हजार र आब २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरेको जानकारी दिएका थिए । उनले उद्योग नाफामा चलिरहेको समेत दाबी गरेका थिए ।

कतिपय मिल मेसिनरीहरू ३० वर्ष पुराना भइसकेको र मर्मत सम्भार गर्न असम्भव हुँदै गएकाले उद्योगलाई आवधिक रूपमा मर्मत गर्न सकिने सिमेन्ट उत्पादनले निरन्तरता पाउने साधारण सभामा जनाइएको थियो ।

अधिकृत पूँजी १० अर्ब रहेको उदयपुर सिमेन्ट उद्योगमा साधारण शेयर ४४ करोड ३७ लाख ५१ हजार, अग्राधिकार शेयर ३ अर्ब २० करोड ४३ लाख गरी कूल ३ अर्ब ६४ करोड ८० लाख ५१ हजार रुपैयाँ बराबरको रहेको छ ।

उद्योगले चालू आर्थिक वर्षमा विद्युत् महसुलसहित भ्याट, अन्तःशुल्क, सामाजिक सुरक्षा कर, अग्रिम आयकर, रोयल्टी, प्रदूषण शुल्कलगायत ४८ करोड ६७ लाख ६८ हजार १२५ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x