उद्यम

साउनमा पनि हुन सकेन चुरा पोतेको सन्तोषजनक व्यापार

इकागज |
साउन ६, २०७८ बुधबार १६:४८ बजे

काठमाडौँ - यस वर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरूमा जस्तो ग्राहक भने आएका छैनन् । महिला दिदीबहिनीले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।

यसपटक कोभिडका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । लकडाउन खुले पनि कोभिडको डरले गर्दा मानिस घरमै बस्न बाध्‍य भएकोले व्यापार सन्तोषजनक हुन नसकेको उनले बताए । उनले यसवर्ष साउनको पहिलो साता वितिसक्न लाग्दा पनि गत वर्षको तुलनामा ७/८ प्रतिशत मात्र व्यापार भएको बताए । सबैलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे अनुसार हुने विश्वास उनको छ ।


'मानिसको कमाइ छैन, कसरी किन्न आउनु ? गत वर्षको तुलनामा यस वर्षको बजार धेरै डाउन छ । सरकारले कोभिडविरुद्धको भ्याक्सिन लगाउन सक्यो भने अलि बढ्थ्यो कि ?,' उनले भने । त्यस्तै असनकै अर्की व्यपारी निरु भट्टराईले साउन महिना परापूर्वकालदेखि शिवजीको पूजाआराधना गरेर मनाइने भएकोले हरियो चुरापोते र मेहेन्दी लगाएर मनाइने गरेको बताइन् ।

प्रकृतिले नयाँ स्वरुप परिवर्तन गर्ने महिनाको रुपमा परिचित साउनमा महिलाले हातमा मेहेन्दी र हरियो चुरा लगाएर महिनाभर महादेवको पूजाआराधना गर्दछन् । प्रकृति हरियालीमा रमणीय देखिने भएकोले आफ्नो श्रृंगारलाई प्रकृतिको हरियालीसँग मिसाउँदै साउन महिनामा शिवजीको पूजाआराधना सहित व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्न पाउँदा महिला दिदीबहिनीहरु उत्साहित हुने गर्दछन् । यो महिना भगवान शिवको प्यारो महिना भएकोले प्रकृति अनुरुप हरियो पहिरनमा श्वेत अक्षता, बेलपत्र, धतुरो, नरिवल चढाएर पूजा गरेमा सम्पूर्ण मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।  


Author

थप समाचार
x