उद्यम

अखाद्य वस्तु बिक्री गर्ने उद्योगविरूध्द मुद्दा दर्ता

इकागज |
मंसिर १८, २०७७ बिहिवार ११:५९ बजे

बुटवल : न्यून गुणस्तर तथा अखाद्य वस्तु उत्पादन गरी बिक्री गरेको आरोपमा पाँच उद्योग तथा फर्मविरुध्द मुद्दा दायर भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा खाद्य स्वच्छता विरुध्द काम गर्ने ती उद्योगलाई जिल्ला अदालत तथा प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ ।

मुद्दा दायर गरिएकाहरूमा पोखरा नुडल्स प्रा.लि. पोखरा–१७ कास्की, महालक्ष्मी डेरी उद्योग बुद्धभूमी–९ कपिलवस्तु, रिद्धिसिद्धि मिष्ठान भण्डार रामग्राम–५ नलवपरासी, शिवशक्ति सस उद्योग बर्दघाट–४ नवलपरासी र शितल जल पानी उद्योग पाल्हीनन्दन–३ विलासपुर, नवलपरासी रहेको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमल कुमार दाहालले बताए ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट ४ र पोखरा कार्यालयबाट १ गरी ५ वटा उद्योगी व्यापारी उपर खाद्य ऐन २०२३ अनुसार मुद्दा दायर गरिएको दाहालले जानकारी दिए । उजुरी तथा अनुगमनपछि भेटिएको प्रमाणका  आधारमा उनीहरूलाई कानुनी कारवाही प्रक्रिया अघि बढाइएको पनि बताइएको छ ।

सो अवधिमा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी प्राप्त ५ वटा उजुरी सम्बोधन भएको कार्यालयले जनाएको छ । त्यस्तै सो अवधिमा अनुज्ञापत्र जारी, नविकरण र बेरुजु जम्मा गरी रु. ८ लाख ७ हजार ७ सय २० संकलन भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

त्यसै गरी खाद्य बजार अनगुमन १५ पटक, बजार अनुगमन ४ पटक, होटल रेष्टुरेण्ट अनुगमन १५ पटक, खाद्य उद्योग अनुगमन १०१ वटा र दाना उद्योग अनुगमन ५ वटा गरिएका छन् । त्यस्तै अनुगमन निरीक्षणको सिलसिलामा अनुज्ञापत्र जारी र नविकरण ४३०, ऐन नियम अन्तर्गत ११८ र खाद्य स्वच्छता सर्विलेन्सका लागि संकलित ८३ र फलफूल तरकारीका ३५ नमूना संकलन गरिएको कार्यालयले जनाएको छ । 

सो अवधिमा ७१६ खाद्य नमूना र ३१ दाना नमूना गरी ७४७ नमूना परीक्षण गरिएकोमा १३ वटा खाद्य नमूना तोकिएको मापदण्ड अनुरुप नपाइएकोले आवश्यक कारवाही अगाडि बढाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले जानकारी दिए । 

‘परीक्षणका लागि प्रयोगशालामा प्राप्त नमूनाहरुको स्रोततर्फ अनुज्ञापत्र जारी तथा नविकरणको सिलसिलामा ४३०, ऐन नियम अन्तर्गत ११८, अनुरोध तालिका ८१, खाद्य स्वच्छता सर्विलेन्सका लागि संकलित ८३ र फलफूल तरकारीका ३५ रहेका थिए, दाहालले भने ।’ कार्यालय र मातहतका कार्यालयबाट संयुक्त बजार अनुगमनका क्रममा उपभोग्य अवधि समाप्त भएका तथा प्रचलित खाद्य ऐन नियम प्रतिकुल पाइएका विभिन्न खाद्य पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा स्वीकृत दरवन्दी १६ जना रहेकोमा १० जना कार्यरत रहेको र रिक्त रहेको ६ जना दरवन्दी पूर्तिका लागि माग गरिएको कार्यालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ जिल्ला र लुम्बिनी प्रदेशका ६ जिल्ला गरी १७ जिल्ला रहेको छ । कार्यालय मातहत कपिलवस्तु, पाल्पा, तनहुं र बाग्लुङ डिभिजन कार्यालय क्रियाशील छन् ।

त्यस्तै  आ.व. २०७७/७८ को प्रथम चौमासिक अवधिमा १५३ वटा उद्योग सिफारिस, १८ वटा उद्योगका अनुज्ञापत्र जारी र ४१ उद्योगका अनुज्ञापत्र नविकरण गरिएको उनले बताए ।


Author

थप समाचार
x