उद्यम

चीनमा नेपाली

गजेन्द्र शर्मा : हिल्टन होटलका पहिलो क्लस्टर जनरल म्यानेजर

अजय अलौकिक |
कात्तिक १३, २०७८ शनिबार १८:५४ बजे

गजेन्द्र शर्मा, होटल सेवाको क्षेत्रमा नेपाल र नेपालीको नाम उच्च बनाउने व्यक्ति हुन् । हाल चीनको ख्हपै प्रान्तको वन आन सहरस्थित कोनराड हिल्टनमा क्लस्टर जेनरल को रूपमा कार्यरत गजेन्द्र यसै होटल व्यवस्थापन तथा अतिथि सत्कारमा लागेको पच्चीस वर्ष भइसकेको छ । आफ्नो होटल सेवाको आरम्भदेखिनै हिल्टनसँग जोडिनपुगेका उनले अहिले दुईवटा होटलको जिम्मा आफ्नो काँधमा बोकेका छन् ।

क्लस्टर डिरेक्टरको रूपमा चीन आएका उनी अहिले क्लस्टर जेनरल म्यानेजर भएका छन् । कोनराड हिल्टनको एक सय वर्ष लामो इतिहासमा यति ठूलो पदसम्म पुग्ने उनी एकमात्र नेपाली हुन् साथसाथै लक्जरियस होटल सेवाको क्षेत्रमा यहाँसम्म पुग्ने नेपाली पनि उनी मात्रै हुन् कि, सायद ।


गजेन्द्रले आज होटल सेवामा जुन नाम बनाएका छन्, त्यसका लागि २२/२३ वर्षको मेहनत त रह्यो नै । तर पच्चिस वर्षअघि उनले यो मुकामसम्म पुगुँला भनी कहिले सोचेका थिएनन् । काठमाडौँ नै अन्तिम गन्तव्य मानेका उनी अहिले देशदेशावर घुमिरहेका छन् ।

गोबिन्द प्रसाद बञ्जारा र रूक्मणी बञ्जाराको छैँठौँ सन्तानका रूपमा सन् १९७० मार्च २८ मा विराटनगर मिल्स एरिया, दरैया (पूर्व प्रहरी तालिम केन्द्रको पछाडि) गाउँमा जन्मेका गजेन्द्रले प्रविणता प्रमाण पत्र तहसम्मको अध्ययन गरी उच्च शिक्षा हासिल गर्न काठमाडौँ आएका थिए । उनलाई त्यस बेला त्यो नै सफल जीवनको सूचक लागेको थियो । उनको परिवारबाट राजधानी काठमाडौँ आउने उनी नै पहिलो थिए ।

लेखा (एकाउन्टिङ) विषयमा राम्रो दखल राख्ने उनले काठमाडौँको शङ्करदेव क्याम्पसमा व्यवस्थापनमा स्नातकको अध्ययन गर्दै एक गलैँचा कारखानामा एकाउन्टिङको काम थालेका थिए । एक जेहेन्दार विद्यार्थीलाई आफ्नो पढाइ र इच्छाइएको विषयमा नै जीविकापार्जनलाई यसरी कामसमेत पाउँदा त्यस बखत स्वर्गानूभूति नै भएको उनी सुनाउँछन् । ‘काठमाडौँ आएर पढाइ गर्ने परिवारबाटै म पहिलो थिएँ, त्यसमाथि नेपाली उद्योग क्षेत्रकै पायोनियर व्यक्तित्व जुद्धबहादुर श्रेष्ठको कार्पेट कारखानामा काम पाएँ ।’

सन् १९९१ मा स्नातक अध्ययनका लागि काठमाडौँ आएका उनी काठमाडौँमा पढाइ खर्च जुटाउन उद्योगपति जुद्ध बहादुर श्रेष्ठसँग भेट गरी उनका छोरा विनोदबहादुर श्रेष्ठको कार्पेट फेक्ट्रीमा एकाउन्टेटको काम थालेका थिए ।

उनले पुराना संघर्षका दिनहरू सम्झँदै भने, ‘जुद्धबहादुर श्रेष्ठज्यूले मलाई उहाँका छोरा विनोदबहादुर श्रेष्ठलाई भेट्न भन्नुभए लगत्तै म कारखाना भएको ठाउँ भैँसीपाटी गएँ । त्यहाँ मलाई कम्प्युटर चलाउन आउँछ भनी सोध्नुभयो, त्यो बेला कहाँ कम्प्युटर, त्यसपछि मलाई कम्प्युटर तालिम मिलाइदिनुका साथै दसैँ नजिकिँदै थियो, मलाई पाँच हजार हातमा ठमाउँदै दसैँतिहारपछि आउनु भन्नुभएको थियो । त्यो पहिलो कामको झझल्को आइरहन्छ । ’

यसरी उनको पढाइ र काम सुचारू रूपमा चलिरहेको थियो । त्यस बेला नेपाली गलैँचाको माग युरोप तथा अमेरिकामा उच्च थियो । काममा व्यस्तै थिए तर एकाएक विश्व बजारमा नेपाली गलैँचाको माग घट्न थालेको थियो । कुनै पनि बेला कारखाना बन्द गर्नुपर्ने स्थिति देखिएपछि उनलाई उद्योगपति श्रेष्ठले नै नयाँ यात्रामा लाग्न सल्लाह दिए ।

काठमाडौँ नै अन्तिम गन्तव्य मानेका उनले अगाडि धमिलो दृश्य देखे, त्यस बेला । हातमुख जोड्न अब अर्कै ठाउँको खोजी गर्नुपर्ने पहिलो बाध्यता आइलागेको थियो । प्रसङ्गवश, युरोपेली ग्राहकले पनि उनीप्रति चासो देखाए । उनमा पखेटा पनि पलाउन थाल्यो र सानो काठमाडौँ सहरभन्दा परको दृश्यको कल्पनामा केही समय घोत्ले ।

अब काठमाडौँ होइन, नयाँ उडानको सोच बनाउनु पर्छ भन्दै अर्कै महादेशतर्फ हानिने उनले निश्चय गरे । काठमाडौँ नै अन्तिम गन्तव्य ठानेका उनले त्यसपछि युरोपको नयाँ उडान भरे । ‘व्यवस्थापनको विद्यार्थी भएकोले मैले व्यवस्थापन नै पढ्ने निधो गरेँ र हानिए होटल व्यवस्थापन पढ्न, स्वीजरल्यान्ड, उनले भने, ‘म व्यवस्थापनको विद्यार्थी, हिसाबाकिताबमा राम्रो दखल थियो, यदि मैले पढाइलाई अगाडि बढाउने हो भने व्यवस्थापनभन्दा परको सोच्ने कुरै भएन । पछि सबैको सल्लाहमा होटल व्यवस्थापन पढ्न स्वीजरल्यान्ड जाने निधो गरियो ।’ अहिले सम्झिल्याउँदा सपनाजस्तो लाग्ने भन्दै उनले थपे । ‘एउटा कुरा भन्न चाहन्छु, समयलाई चिन्नु र समात्नुपर्दो रैछ । मलाई कुनै गन्तव्यको सोच बनाउनुपर्ने बाध्यता आइलाग्यो । मैले पढ्ने निधो गरेँ र म विदेशतिर हानिएँ ।’

नेपालमा माओवादी युद्धअघिदेखि नै काम तथा अध्ययनका लागि नेपाली युवाहरू विदेशिने क्रम बाक्लिसकेको थियो । विदेशिनु कसैलाई फेसन त कसैलाई बाध्यता थियो । गजेन्द्रले सन् १९९५ मा स्वीजरल्यान्ड ईलाञ्जस्थित अल्पिना इन्टरनेसनल होटल म्यानेजमेन्ट स्कुलमा आफ्नो जीवनको नयाँ अध्याय सुरू गरे । स्वीजरल्यान्ड होटल व्यवस्थापन तथा सेवासम्बन्धी अध्ययनकालागि प्रख्यात गन्तव्यको रूपमा रहँदैआएको छ । सन् १९९६ मा उनले आफ्नो पहिलो इन्टर्न होटल हिल्टनमा गरे । यसरी होटल म्यानेजमेन्ट पढ्दै हिल्टनमा प्रवेश गरेपछि पच्चीस वर्षदेखि यसै हिल्टनमा आबद्ध छन् । स्नातकपछि नेपाल फर्किने सोच बनाएको बेला उनलाई त्यहाँका सिनियरले त्यतै काम गर्ने सल्लाह दिए ।

उनले त्यो समयको संवाद सम्झिँदै भने, ‘अहिले यतै काम गर, भोलि नेपालमा पनि अवश्य नै हिल्टनले होटल खोल्ने छ, त्यसको लागि आफू तयार हौ । त्यस बाहेक, अहिले धेरै देशहरूमा जता पनि काम गर्नसक्ने छौ ।’ उनका सिनियरले भनेजस्तै उनी हिल्टनमा आबद्ध रही विभिन्न देशमा रहेका होटलको व्यवस्थापन हेर्न पुगेका छन् ।

यही मेसोमा, अहिले उनी चीनमा क्लस्टर जेनेरल म्यानेजर भएका छन् । दुई वा दुईभन्दा बढी होटलहरू सम्हाल्ने पद नै क्लस्टर जेनेरल म्यानेजर हो । हाल दुई होटलका पाँच सय बढी कोठाको कार्यभार उनको काँधमा छ । झण्डै तीन महिना पुग्यो, अहिले उनी चीनको ख्हपे प्रान्तको वन आन सहरमा दुई वटा होटल सँगसँगै तीन सय चौरासी जना चिनियाँ कर्मचारी तथा असङ्ख्य ग्राहकलाई क्रमशःव्यवस्थापन, निर्देशन र सेवा दिँदै आएका छन् ।

उनी सन् २०१५ मा क्लस्टर डिरेक्टरको रूपमा चीन आएका थिए । चीन आएलगत्तै उनको एक पद पनि बढुवा भएको हो । उनले सर्वप्रथम चीनको ल्याओनिङ प्रान्तको दालियन सहरमा अवस्थित होटल हिल्टनको व्यवस्थापन सम्हालेका थिए । साथै उनी विगत पाँच वर्षदेखि चीनलाई बुझ्ने प्रयास गरिरहेका छन् । मौका पाएसम्म यहीँ नै एक्स्प्लोर गर्ने साथै करियर ग्रोको सोचाइमा छन् । चीन आएपछि मात्र चीनको विकास देखेर अचम्भित् भएको बताए । ‘एसियाको मध्यभागमा प्राचीन सभ्यता बोकेको विशाल विकासशील देशले कति विकास गरिसकेको रहेछ, यहाँ आएर अनुभव गर्न पाएँ । युरोपतिरको चीन बुझाइ भन्दा फरक पाएँ । खासमा चीन आएपछि मात्र चीन कहाँ पुगिसक्यो भन्ने थाहा हुन्छ ।’

दोस्रो आर्थिक शक्ति, विश्वमै सबैभन्दा अधिक जनसङ्ख्या र मध्यम आय समूहको सङ्ख्यामा बढ्दोत्तरी भएको देश चीनप्रति उनी निकै आकर्षित छन् । उनको बुझाइमा होटल, पर्यटन तथा आर्थिक क्षेत्र चलायमान बनाउन युरोपमा विदेशी पर्यटक मुख्य स्रोत हुन् भने चीनमा आन्तरिक स्रोत नै काफी छ । ‘चीनमा विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै मुख्य कारक तत्व रहेको मैले पाएँ । फस्ट, सेकेण्ड टिएर सिटीको कुरा छोडौँ अहिले थर्ड र फोर टिएर सिटीको समेत यहाँ तीव्र विकास भइरहेको छ । थर्ड टिएरमा ५०, ६० लाख जनता छन् । यो आन्तरिक पर्यटन बजार नै अबको नयाँ इञ्जिन हो । यसकारण मैले यहाँ धेरै सम्भावना देखेको छु ।’

चीन पूर्ण गरिबी निवारणपछि चौतर्फी रूपमा सम्पन्न समाजको लक्ष्यमा अग्रसर छ । यसबाट पनि जनतामा क्रयशक्ति क्षमताको विकास भएको छ साथै सहरीकरण पनि बढ्दै छ । यसबाहेक, हाल चीन नव उच्चप्रविधिको विकासमा निरन्तर रूपमा अगाडि आइरहेको छ । जसबाट थर्ड र फोर टिएर सिटीको तीव्र विकास भइरहेको छ । यही बुझेर नै उनी अहिले वान आन सहरमा आएका हुन् ।

यसअघि, उनले पाँच वर्ष दालियनमा रहेर चीन र चिनियाँ गतिलाई बुझ्ने प्रयास गरेका थिए । उनले विश्वलाई तहसनहस बनाएको कोरोनाभाइरस महामारीले दालियनमा धावा बोलेको देख्नुकासाथै उनी चीन सरकारको कोरोनाविरूद्धको प्रतिकारको साक्षी पनि बनेका छन् । दालियनमा ३ पटकसम्म कोरोनाको लहर आएको थियो । ‘चीनले उच्चप्रविधिमा पाएको सफलता तथा सरकारको नेतृत्वदायी भूमिकाले समग्र चीनबाटै कोरोनालाई इराडिकेट नै गर्यो भन्न सकिन्छ । त्यहाँ तीन पटक देखियो तर सरकारले युद्धस्तरमा तुरन्तै नियन्त्रणमा लियो । विश्वका ठूल्ठूला देश असफल भएको बेला चीनको यो सफलताले पनि चीनको उचाइ कहाँसम्म छ भन्ने देखिन्छ ।’

ल्याओनिङ प्रान्तमा ४६४ जना सङ्क्रमित पाइएकोमा सदरमुकाम दालियनमा मात्र तीन पटकको लहरमा १६२ जना सङ्क्रमित भएका थिए । साथै दालियनसहित हिल्टनले यस अवधिमा विश्वभरि नै क्लिन स्टेको अवधारणा अघि ल्याएको थियो ।

होटलमा सबैभन्दा पुरानो ब्राण्ड हिल्टनले टेलिभिजन, मिनी बार, गेस्ट रूममा खाना सेवा, एयरपोर्ट होटलको अवधारणा यस्ता धेरै कुरालाई सबैभन्दा पहिला प्रयोगमा ल्याएको हो । सन् १९१९ मा कोनराड हिल्टनले सुरू गरेको यो होटलका १७ वटा ब्राण्डहरू छन् । लक्जरीमा ४, फुल सर्भिसमा हिल्टनसहित ८ र फोकस सर्भिसमा ५ वटा ब्राण्डहरू छन् । चीनमा १७ मध्ये ७ वटा ब्राण्डहरू भित्रिएका छन् र चीन अमेरिकापछिको सबैभन्दा ठूलो बजार रहेको छ । हाल चीनमा हिल्टनका ३११ वटा होटलहरू सञ्चालित छन् र सन् २०२५ सम्ममा झण्डै हजारको सङ्ख्यामा नयाँ होटलहरू सञ्चालनको तयारीमा छन् ।

वेटर, क्याप्टेन हुँदै आठ तह पार गरी हाल क्लस्टर जिएम बनेका गजेन्द्र आउने वर्ष तीनवटा होटलको जिम्मा लिँदैछन् । उनी कम्पनीमा स्वच्छ, निष्पक्ष अवसर रहेको विश्वास गर्छन् । ‘कम्पनीमा फेयर अपर्चुनिटी  छ, यो होटलको कल्चर हो, नभए शर्मा वी आर ह्याप्पी टू प्रोमोट यू किन भन्थे त,’ उनी प्रतिप्रश्न गर्छन् । आजभन्दा बीस वर्षअघि अधिकाँश नेपालीहरूले विदेशमा उच्च स्तरको काम विरलै पाउँथे । उनी धीरतापूर्वक खुड्किलो चढ्दै छन् । अब उनको लक्ष्य एरिया म्यानेजर छ ।

अर्ली बर्ड र सहयोगकालागि हात अघि बढाउने तथा ससाना कुरालाई पनि विशेष ध्यान दिने परिचय बनाएका उनको मातृभूमि नेपालप्रति के सोचाइ छ त ? उनी आफ्नो सिनियरले भनेको कुरा दोहोर्याउँछन् । ‘भोलि अवश्य हुने छ, त्यसको लागि तयार बन ।’ साँच्चनै, अहिले काठमाडौँमा होटल हिल्टन पुगेको छ । काठमाडौँ नक्सालमा हिल्टनको ब्राण्ड ‘होटल हिल्टन काठमाडौँ’ निर्माणाधिन अवस्थामा छ । कोभिड-१९ को कारण यसको निर्माण र सञ्चालन पर धकेलिएको हो । यो होटल सञ्चालनमा आएलगत्तै हिल्टनको लोयल कस्टमरहरू नेपाल जाने ठोकुवा गर्छन्, गजेन्द्र ।

यस अर्थमा, धेरैअघिदेखि होटल तथा पर्यटन क्षेत्रमा लागेका साना ठूला होटलहरूले ब्राण्डलाई भित्र्याउनतिर सोच्नुपर्ने थियो । खोइ पहिले के गरे । तर अहिले विस्तारै भइरहेको देखिन्छ । यसबाहेक गजेन्द्रले अन्नपूर्ण होटल सर्वप्रथम हिल्टनको ब्राण्डको रूपमा खोलेको तर हिल्टनको मापदण्ड अनुरूप चलाउन नसकेपछि हिल्टन हटेको पनि सुनाए ।

उनी नेपालमा पर्यटन तथा होटल सेवाको अवसर विशाल रहेको बताउँछन् । हाल जनयुद्ध रोकिसकेको, राजनीतिमा केही स्थिरता देखिएको र यातायात र पर्यटकको सुविधामा ध्यान दिन थालेकोले ठूलो अवसर रहेको देख्छन् । ‘नेपाल वर्षेनी दश लाखभन्दा बढी पर्यटक भित्र्याउन सक्षम छ । सरकार र यस क्षेत्रमा लागेकाहरूले लङ टर्म भिजन र त्यही अनुरूप कार्ययोजना तथा लक्ष्यलाई हासिल गर्ने उद्देश्य लिएको खण्डमा नेपालको पर्यटन तथा होटल क्षेत्रले मात्र नभइ समग्र नेपालले काँचुली फेर्न सक्छ ।’

पर्यटन गन्तव्य मानिने नेपालमा पर्यटककालागि शान्ति, सुरक्षा र यातायात तथा भौतिक सुविधाको अवस्था निकै कमजोर छ । उनी भन्छन्, ‘हेर्नुस्, जापानमा सधैँ भुइँचालो गइरहन्छ के त्यहाँ पर्यटकको कमी छ, विश्वका विभिन्न भागमा प्राकृतिक प्रकोप गइरहेकै हुन्छ, के त्यहाँ यस कारण लङ टर्मसम्म पर्यटन क्षेत्रमा क्षति पुगेको सुन्नुभएको छ ?’ कोभिड-१९ महामारी अघिसम्म वर्षमा दुई पटक स्वदेश जाने गरेका उनी पर्यटन र कृषि नै नेपालको मुख्य गेमचेञ्जर भएको बताउँदै पर्यटन विकासकालागि सेफ्टी, इन्फ्रास्ट्रकचर, ट्रान्सपोर्ट, कनेक्टिभिटीसँगै स्थिर राजनीतिको खाँचो रहेको औँल्याउँछन् ।

उनले भनेजस्तै हालसालै नेपालमा अत्याधुनिक कृषि फार्म पनि खोलेका छन् । यो फार्मको विषेशता भनेको नवप्रविधि हो । आफ्नो जन्मभूमिमा केही नयाँ गर्ने अठोटसँगै उनले बन्जारा एग्रो नामक कृषि फार्म खोलेका हुन् । आठ महिनाअघि मात्र दरैयामा साझेदारीमा पचास करोडको लगानी गरी अत्याधुनिक तथा प्रविधियुक्त कृषि फार्म खोलेको बताए । हालसालै थालेको यो फार्ममा २७ वटा उन्नत खालका गाईसँगै भैँसी पनि छन् । दुई सयवटा गाई पुर्याउने योजना बनाएका उनको फार्मले ग्रीन हाउस तथा अर्ग्यानिक खेतीमार्फत तरकारी उत्पादन गरिरहेको छ ।

रमाइलो कुरा के हो भने कर्मथलो चीनलाई बनाएपछि उनको फार्मको सपना साकार हुँदैछ । आधुनिक कृषि क्षेत्रमा क्रान्ति ल्याएको चीनबाट अत्याधुनिक प्रविधि भित्र्याएका छन् । चीनबाट भित्र्याइएका यी अत्याधुनिक मेसिनले गाईवस्तुको दुध दुहुने, पानी तथा खाना हाल्ने, गोबर सोर्ने सबै गर्दछ । कृषिप्रधान देश नेपाललाई अत्याधुनिक बनाउन मेरो प्रयास रहने छ, उनी भन्छन् ।

 


Author

थप समाचार
x