उद्यम

भक्तपुरमा पाला बनाउने कुमालेहरुलाई भ्याईनभ्याई

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १२:५४ बजे

भक्तपुर- तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याई भएको छ । 

दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख भन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन् । गत वर्ष कोरोनाका कारण बिक्री नभए पनि यसवर्ष माग अनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायीहरुको भनाइ छ ।


व्यवसायीहरुका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ । जताजतै प्लानिङ र सहरी विकासका कारण पाला लगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उनीहरुको गुनासो छ । पाला मात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाँडाहरु पोल्न स्थानको अभाव समेत हुने गरेको उनले बताए । उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ । यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान लगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।

भक्तपुरमा दिपावलीमा पाला मात्र नभएर लाख बत्ती बालिने पालाहरु विभिन्न माटाका भाँडाहरु दही जमाउने कतारो लगायतका विभिन्न भाँडाहरु बन्दै आएका छन् ।हाल नयाँ व्यवसायका रुपमा विभिन्न हटिया लगायतका चिया पसल एवं दहीको लागि ग्राहकले दिएको साइज र डिजाइनमा पनि प्रजापतिहरुले माटोका भाँडा बनाउँदै आएका छन् । 

 


Author

थप समाचार
x