उद्यम

कर्मठ केटीहरू भन्‍छन् : सम्मान होइन, सहकार्य चाहियो

इकागज |
पुस १४, २०७७ मगलवार १७:१६ बजे

पोखरा : आयुषी केसी, सोनिका मानन्धर र बोनिता शर्मा मंगलबार सराङकोटमा बसेर गफिँदै थिए । अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित तीनै महिला उद्यमी हुन् । केसी र मानन्धर खाली सिसी डटकम र एइलोई कम्पनीका संस्थापक हुन् । बोनिता शर्मा भने ‘सोसियल चेन्जमेकर्स एन्ड इनोभेटर्स’की अभियन्ता हुन् । 

नेपाल लिट्रेचर फेस्टिभलको ९औं संस्करणको पहिलो दिनमा यी ३ जनाबीच आभास्‍ना पाण्डेले बहस गराइरहेकी थिइन् । बहसमा उनीहरूले आआफ्ना सोच, लक्ष्य, कार्यशैलीका बारेमा जानकारी बाँडे । बहसमा पाण्डेले बीचमा सोधिन्, ‘महिला अभियन्ता तथा उद्यमी भएर काम गर्दा तपाईंहरूले समस्या पनि भोग्नुभयो होला नि ?’ बोनिता शर्माले दुवैलाई जितेर उत्तर दिइन् । यसो गर्नमा बोनिताको तर्क थियो, ‘बाँकी २ ले भन्दा सायद ज्यादा समस्या मैले भोगेकी छु ।’ 

‘नेपाली समाजमा नारीको कपडालाई समेत यौनिक दृष्टिले हेरिन्छ । यदि कोही महिलाले यस बारेमा केही बोल्यो भने नराम्रा कमेन्ट्स आउँछन्,’ बोनिता भन्छिन्, ‘हामीले वुमन इम्पावरमेन्टको कुरा गर्‍यौं तर अब नारीका बारेमा सोच्ने गरी पुरुषलाई इम्पावरमेन्ट गर्नुपर्छ ।’

उनी पोषणका बारेमा सचेतना जगाउन जाँदा यस्ता समस्या धेरै खेपेकी छिन् । शर्माले जत्तिको समस्या भने आयुषी केसीले खेप्नुपरेको छैन । आयुषीसँग काम गर्ने खाली सिसीका १३ हजार कर्मचारी सबै पुरुष छन् । आयुषीले उनीहरू सबैलाई सुरुमा लैङ्गिकताको भाव छाडेर काम गर्न आग्रह गरिन् । आखिर नेपाली समाजमा एक नारीले १३ हजार पुरुषलाई काम गराउनु सहज काम हुँदैहोइन ।


आयुषी भन्छिन्, ‘उहाँहरू सबै प्याट्रियार्कल सोसाइटीबाट आउँदा महिलाको डिक्टेटरसिपमा काम गर्न गाह्रो होला भनेर एकपटक उहाँहरूलाई सम्झाएँ । तर बुझ्दै जाँदा बोलीले भन्दा कामले नयाँ पाठ सिकाउने रहेछ भन्ने बुझें ।’

आयुषीले खाली सिसी खोल्नु अगाडि नै नारी भएका कारण काम नथाल्न सल्लाह पाइन् । उनले सिसा फलाम उठाउने कर्मचारीसँग कुरा गरेकी थिइन् । ती कर्मचारीले आयुषीलाई भने, ‘सर पनि हुनुहुँदो रहेनछ, तपाईं अझै मिस अनि अफिस नी रैन्छ, म त सक्दिनँ ।’ आयुषीले जसोतसो उनलाई मनाइन् । आयुषीको योजना अनुसार ती कर्मचारीले काम गरेपछि पहिलो महिनामा नै ८ हजार बढी रकम कमाएछन् । ‘त्यो दाइले ८ हजार बढी कमाएपछि मलाई पनि कामलाई विस्तार गर्न एप्रुभल मिलेजस्तो लाग्यो,’ आयुषीले सुनाइन् । 

सोनिकाले भने आयुषी र बोनिताको जस्तो समस्या भोग्नु नपरेको अनुभव सुनाइन् । ‘म ओपन माइन्डेड फेमिलीबाट आएकी हुँ । त्यस्तो समस्या मैले भोगिनँ, केवल आम्दानी हुँदैन भनेर धेरैले सुनाउनुभो तर म आफ्नो योजनामा लागेँ’ सोनिकाले सुनाइन् । अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित ३ जना नै नेपाल सरकारबाट चिनिन सकेका छैनन् । आफूहरूलाई पुरस्कृत भन्दा सरकारले काम गर्ने वातावरण र सहकार्य गरिदिने अपेक्षा गर्छन् ।


बोनिताको सोचाइ टोलीले अहिले पनि काम गरिरहेको छ । तर कोभिडका कारण सोचेको भन्दा बढी रकम उनको कम्पनीले खर्च गर्नुपर्‍यो । बीचमा सबै जना आइसोलेटेड भएर बस्दा उनको कम्पनीको काम ठप्प बन्यो । यो बोनिता र उनको कम्पनीले भोगेको समस्या हो । तर बोनिताका आधारमा पोषणको हिसाबमा देशले भोगेको समस्या यो भन्दा ठूलो छ ।

नेपालले कुपोषण निर्मुल पार्नमा खर्च गरेको २५ वर्षको मिहिनेत २५ महिनामै खेर जाने अवस्था आएको उनको भनाइ छ । ‘२५ वर्षमा गरेको काम कोभिडले २५ महिनामा फेरि त्यही पुरानो स्थितिमै पुर्‍याउने खतरा छ,’ उनले भनिन्, ‘कर्णालीमा अहिले ५० प्रतिशत बढी बच्चामा निको नहुने कुपोषण छ । यसले एक जेनेरेसनै खतरामा छ ।’  

आयुषीको खाली सिसीमा अहिले काठमाडौं १३ हजार कर्मचारी हुनुले नेपाल विश्‍वमै धेरै रिसाइक्लिङ गर्ने देश बनाउन सक्ने आँकलन गर्छिन् । उनी आफूले कम्पनी नभई एक अभियान चलाएको भन्न चाहन्छिन् । ‘मैले मुभमेन्ट चलाएकी हुँ, धोती भनिने दाइहरू अहिले खालीसिसी दाइ भनेर चिनिन्छन् । नेपाल विश्वकै टपमस्ट रिसाइक्लिङ देश बन्न सक्छ, एक्लैले सक्दिनँ,’ केसी भन्छिन् । 

सरकारले २५ वर्षअघिको सवारी साधनसम्बन्धी रिपोर्ट राख्न नसक्दा नेपालले गुमाएको अर्थको कति प्रभाव परेको छ भन्ने बुझ्न गाह्रो भएको सोनिका बताउँछिन् । काठमाडौंमा २५ वर्ष अगाडि महिला सफा टेम्पो चालकले टेम्पो चलाएको र अहिले त्यो बन्द हुँदा नेपालले ठूलो घाटा बेहोरिरहेको सोनिकाको विचार छ ।

‘नेपालमा २५ वर्ष अगाडि सफा टेम्पो चालकहरू महिला दिदीहरूले टेम्पो चलाउनुहुन्थ्यो । तर अहिले त्यो कहाँ छ ? हामीले कतिको फ्युल ल्याउँछौं वर्षेनी रु जीडीपी कति घट्यो ?’ सोनिकाले भनिन्, ‘तर अहिलेपनि महिलाहरूले सवारी कर्जा लिन खोजे पाउँदैनन् । यसले नेपालको इकोनोमीमा कति इम्प्याक्ट पारेको छ भन्ने डाटा छैन ।’

आफ्ना समस्या बताउँदै उनीहरूले सरकारसँग सहकार्यका लागि अपिल गरे । ‘विदेशी संस्थाले पदक नदिँदासम्म यहाँ कोहीले पनि राम्रो रेस्पोन्स गर्दैन,’ बोनिताले भनिन्, ‘अहिले नेपाल सरकारले धेरै रेकग्निसन दिन सकेको छैन, जसले काम गरिरहेका छन् उनीहरूलाई नीति निर्माणमा समेटिनुपर्छ ।’

चलिरहेको सिस्टमलाई परिष्कृत गरेर नयाँ विचारमा चल्न सके अरुले समेत सफलता पाउने ३ जनाकै विचार थियो । नयाँ काम थाल्दा अनुमान भन्दा पनि सत्यतालाई बोध गरेर थाल्नु पर्ने बोनिताको भनाइ थियो । ‘एजम्पसन होइन प्रश्न गरेर समाजमा लानुपर्छ । समाजका लागि ल्याइएको प्रविधि लामो समयसम्म रहने हुन्छ,’ उनले भनिन् । 

आयुषीले नेपालमा स्टार्टअपहरू डिजिटलाइज रुपमा चलाउन सके कोभिड महामारीमा समेत टिकाउन सकिने धारणा राख्छिन् । खाली सिसीलाईसमेत अहिले डिजिटलाइज गर्न लागिएको उनले बताइन् ।


Author

थप समाचार
x