उद्यम

चार महिनामा चार करोड ७० लाख थान डायपर आयात

इकागज |
पुस १०, २०७८ शनिबार १३:३३ बजे

काठमाडौँ - नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना रु १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अंक उल्लेख भएको छ ।

डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ । समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो । हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रुपमा प्रयोग गर्दथे । आव २०७८/०७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट रु ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो ।


सबैभन्दा धेरै भारतबाट रु ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ । आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ । दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट रु दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ ।

उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ । तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर रु ४४ लाख ६६ हजार २१७ मा आयात भएको छ । शिुशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको कांछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अङ्ग्रेजीमा ‘डायपर’ भनिन्छ ।

नेपालले डायपर आयात गर्ने चाँैथो ठुलो मुलुक थाइल्याण्ड हो । थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर रु सात लाख ६६ हजार ४७६ मा आयात गरेको छ । त्यसैगरी डायपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङ्कङबाट एक थान डायपर आयात भएको विभागले प्रकाशन गरेको आव २०७८/०७९ को चार महिनाको तथ्याङ्कमा उल्लेख छ ।

चार महिनाको डायपर आयातबाट राज्यले रु १८ करोड ७५ लाख ५९ हजार भन्सार असुली गरेको छ । डायपर आयातमा भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा डायपर उद्योगको ठूलो सम्भावना देखिन्छ । आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक रु दुइ अर्बको डायपर खपत हुने देखिन्छ । प्रचुर सम्भावनाको क्षेत्र भएर पनि नेपाली उद्यमी यसतर्फ आकर्षित भने हुन सकेका छैनन् । रासस


Author

थप समाचार
x