उद्यम

अम्रिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित

इकागज |
पुस ३०, २०७८ शुक्रवार १५:१० बजे

तेह्रथुम - पछिल्लो समय तेह्रथुमका किसानहरू अन्नबाली मास्दै नगदेबालीतर्फ आकर्षित हुँदै आएका छन । खाली जमिन तथा पाखोबारीमा यतिबेला अम्रिसो खेतीले भरिएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै किसानहरू नगदेबाली रोज्दै आएका छन् ।

किसानले खेती गर्दै आएको अम्रिसोको राम्रो मूल्य पाएपछि हर्षित बनेका छन् । विगतका वर्ष अम्रिसोको मूल्य गिरावट आएसँगै निराश बनेका किसानहरू यतिबेला अम्रिसो थुत्न र बिक्री गर्न हतारोमा छन् । पशु चौपयालाई घाँससँगै फूलबाट आम्दानी लिन सकिने भएकाले पनि किसानहरूले अम्रिसो खेतीलाई रोजेका हुन् ।


अम्रिसो बेचेर राम्रै आम्दानी लिँदै आएको लालीगुराँस-५ दागपाका रमेश बस्नेतले बताए । उनी भन्छन्- ‘खेती लगाएपछि अम्रिसोलाई खासै हेरचाह गर्नु पर्दैन फूल थुतेपछि घाँस राम्रो काट्नुपर्छ त्यति मात्रै हो । अम्रिसोको फूल बिक्री नभए पनि गाईवस्तुलाई घाँस हुन्छ बहुउपयोगी खेती हो ।’ बस्नेत जस्तै आठराईका गोपाल ढकालले पनी अम्रिसो बिक्रीबाट राम्रो आम्दानी लिँर्दै आएका छन् । ढकाल तरकारी खेतीसँगै अम्रिसो खेती गर्दै आएको बताउँछन् ।

तेह्रथुमको ग्रामीण क्षेत्रमा यतिबेला अम्रिसोको फूल प्रतिकिलो एक सय २० रुपैयाँले  बिक्री भइरहेको छ । गत वर्ष एक सय अधिकतम एक सय रुपैयाँमा बिक्री भएको अम्रिसो यस वर्ष पहिलो सिजनमा एक सय ५० रुपैयाँसम्म बिक्री भएको थियो । राम्रो मूल्य भएकाले व्यापारीहरू खरिदका लागि घरघरमा आएर लैजाने गरेको किसानहरू बताउँछन् । अम्रिसो खेतीले परिवार धान्नसमेत टेवा पुग्दै आएको छ । यहाँका किसानहरूले पाँच रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अम्रिसो खेती गर्दै आएका छन् ।

जिल्लाको ६ वटै पालिकाहरूमा अम्रिसो खेती हुँदै आएको छ । पछिल्लो समय खाली रहेका जमिनमा अम्रिसो खेतीको विस्तार हुने क्रम बढ्दो रहेको कृषि शाखाहरूले जनाएका छन् । तेह्रथुममा उत्पादन भएको अम्रिसो धनकुटा हिले र झापाको विर्तामाेडसम्म बिक्री हुँदै आएको छ । 


Author

थप समाचार
x