उद्यम

भाडा समायोजन गर्न ट्रक यातायात व्यवसायी महासंघको ७ दिने अल्टिमेटम

इकागज |
चैत १, २०७८ मंगलबार १७:६ बजे

काठमाडौँ - नेपाल ट्रक यातायात व्यवसायी महासंघले बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । महासंघ विभिन्न समस्या समाधानको माग राखेर ज्ञापन पत्र बुझाएको हो । महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि अनुसार सात दिनभित्र वैज्ञानिक भाडादर कायम गर्न माग गरेको छ । ढुवानी व्यवसायीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यवसायमा परेका विविध समस्याहरूलाई तत्काल सम्बोधन गर्न ज्ञापनपत्र बुझाएका हुन् ।

महासंघले ट्रक यातायात व्यवसाय विभिन्न समस्याहरूले गर्दा व्यवसाय रूग्ण अवस्थामा पुगेको र तत्कालै ती समस्याहरू समाधान हुन नसके व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था भएको हुँदा सरकारले तत्काल पहल नचाले देशैभर ढुवानी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।


ज्ञापन पत्रमा सरकारले छोटो समयमै पटक–पटक पेट्रोलियम पदार्थमा गरेको अस्वभाविक मूल्यवृद्धिले प्रत्यक्ष रूपमा यातायात व्यवसाय धरासायी बनेको जनाउँदै वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू संचालन गर्ने र डिजेलको मूल्यमा प्रतिलिटर  ५ रूपैयाँ तलमाथि हुने वित्तिकै भाडादर समायोजन गर्ने भनी यातायात व्यवस्था विभाग र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच भएको लिखित सहमतिसमेत उलङ्घन भएको उल्लेख गरेका छन् ।

महासंघ र यातायात व्यवस्था विभागबीच भएको लिखित सहमति कार्यान्वयन नहुदै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले डिजेल प्रतिलिटर २९ रूपैयाँ बृद्धि भएको अवस्थामा ट्रक व्यवसायीहरूले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने महासंघले जनाएको छ

ज्ञापनपत्रमा मुलुकलाई चाहिनेभन्दा बढी ट्रकहरू नेपालमै भएको अवस्थामा भारतीय गाडीहरूको निर्वाध आवागमन भइरहेको र भारतीय ट्रकहरूले कानुनले तोकेभन्दा बढी भार वहन गरिरहेको, नेपाली ट्रकहरूलाई भारतीय भूमिमा ५ किमीसम्म प्रवेशका लागि दूतावासबाट सिफारिस बनाउनुपर्ने लगायतका झन्झटिला प्रावधानहरू व्यहोर्नुपर्ने, भारतीय ट्रकहरू जहाँतही निर्वाध रूपमा आवागमन गर्ने गर्नाले नेपाली व्यवसाय धरासायी हुन पुगेको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भारतीय मालवाहक गाडीहरू जहाँतही निर्वाध आवागमनको अन्त्य गर्नु पर्ने र यस्ता माल वाहक गाडीले नेपाली सडकहरू ध्वस्त हुँदै गएको तर्फ यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै पत्रमा भारतीय सीमा क्षेत्रबाट व्यापक रूपमा डिजेल तस्करी भईरहेको, नेपालमा सामान लिएर आउने भारतीय ट्रकहरूले फर्किदा मौजुदा ट्याङ्कीमा मात्र होइन थप ट्याङ्कीमा पनि डिजेल भरेर जाने गरेकोले नेपाली अर्थतन्त्रमा र इन्धन आपूर्तिमा गम्भीर समस्या उत्पन्न हुने स्थिति रहेकोले यस्तो कार्य तुरुन्तै रोकिनु पर्ने उल्लेख गरिएको छ ।

भारतमा थोत्रिदै गएका ट्रकहरू नेपालको सीमा क्षेत्रमा ल्याई चलाउने प्रवृति व्यापक रूपमा बढेकोले यस्ता समस्याहरूलाई समयमै समाधान नगरे नेपाल थोत्रा ट्रकहरूको डम्पिङ साइड बन्ने खतरा रहेको महासचिव राजेन्द्र विक्रम बनियाँद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा जनाइएको छ । यसरी पटक पटक इन्धनको मूल्यवृद्धि भएपछि ढुवानी गर्ने गाडी भाडा पनि बढ्ने हुदा अहिले नै बजारमा खाद्य सामाग्रीको मूल्य आकासिने क्रम जारी छ भने सरकारको कुनै निकायले अनुगमन गरको देखिदैँन ।


Author

थप समाचार
x