वातावरण

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एक/दुई दिनमै वर्षा हुन्छः मौसमविद्

इकागज |
साउन ३, २०७९ मंगलबार १४:७ बजे

काठमाडौँ- मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरूले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।

मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्‍न भागहरूमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन् । मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ । उनले मनसुन न्यून चापीय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरू हुनासाथ गर्मी हटेर जाने बताइन् ।


पोखरेलले केही दिन भित्रमै मनसुन सक्रिय भएर वर्षा हुने जिकिर गरिन् । मौसमविद्हरूका अनुसार हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा हुन सकेकाे छैन ।  उनले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने उल्लेख गरिन् ।

मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् ।

यस्तै उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरूलाई ध्यान दिन आग्रह गरिन् ।


Author

थप समाचार
x