वातावरण

‘उहिले सिकार आरक्ष, अहिले बाघ संरक्षणमा छलाङ’

इकागज |
साउन २६, २०७९ बिहीबार २१:५१ बजे

फाइल फोटो

महेन्द्रनगर - विसं २०२६ मा सिकार आरक्षका रुपमा संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले आइपुग्दा बाघ संरक्षणमा अब्बल सावित भएको छ ।

बाघको राष्ट्रिय गणनामा बाघको घनत्व बढाउँदै सन् २०२२ को गणनामा यहाँ बाघको सङ्ख्या दोब्बरले बढेको छ । कञ्चनपुरमा तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भारतसित पनि जोडिएको छ । सन् २०१८ को राष्ट्रिय बाघ गणनामा यहाँ १६ वटा पाटे बाघ रहेका थिए । 


सन् २०२२ को गणनामा यहाँ पोथी र भाले गरेर बाघको सङ्ख्या ३६ पुगेपछि वन पर्यावरणका क्षेत्रमा शुक्लाफाँटाको चर्चा चुलिएको छ । विसं २०३२ मा एकसय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा निकुञ्जको पूर्वतर्फको एकसय ५० वर्गकिलोमिटर क्षेत्र विस्तार गरी निकुञ्ज घोषणा गरिएको हो ।

विसं २०७३ फागुनमा राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भएको शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रुपमा पनि परिचयन बनाएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए । 

`नयाँ एमटिवान वैज्ञानिक विधिबाट बाघ गणना गरिएको हो`, प्रमुख संरक्षण अधिकृत मेहताले भने, `उहिले सिकार आरक्ष भए पनि अहिले बाघ संरक्षणमा अब्बल भएका छौँ ।` बाघका लागि आहारा प्रजातिको उचित प्रबन्ध, चोरीसिकारी नियन्त्रण र मध्यवर्ती क्षेत्र र स्थानीय निकायको सहयोग एवं संरक्षणप्रतिको सकारात्मक भूमिकाले बाघको सङ्ख्या बढेको उनको भनाइ छ । 

निकुञ्जका अनुसार अहिले निकुञ्जभित्रको चौधर खोलाको पश्चिमतर्फको भागमा बाघ बढी सङ्ख्यामा रहेका छन् । मुलुकमै पर्यटक आवागमन कम हुने शुक्लाफाँटामा बाघको सङ्ख्या दोब्बरले बढेसँगै यहाँ अवलोकन गर्ने बढी आउनेमा आशावादी छन् ।

शुक्लाफाँटामा सन् २००२ मा २६, सन् २००५ मा १८, २००८ मा ८ र २०१३ मा १७ वटा पाटे बाघ रहेका थिए । `राष्ट्रिय गणनासँगै बेलाबेलामा हामी दातृ निकायको सहयोगमा पनि यहाँ बाघको अनुगमन गरिरहेकै हुन्छौँ`, उनले भने, `आहारा प्रजाति प्रशस्त हुनुका साथै बाघको बासस्थान पनि उचित प्रबन्ध यहाँ छ ।`

यहाँ मानव–वन्यजन्तु द्वन्द्व अन्तको भन्दा कम रहे पनि जङ्गली हात्तीको आतंक भने बेलाबेला हुने गरेको छ । एकसय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान रहेको शुक्लाफाँटामा विश्वमै सबैभन्दा ठूलो बाह्रसिङ्गाको झुण्ड अवलोकनसमेत गर्न सहजै पाइन्छ । रासस


Author

थप समाचार
x