वातावरण

दुई महिनापछि टेकु ‘ट्रान्सफर स्टेसन’को फोहर उठ्यो

इकागज |
भदौ २, २०७९ बिहीबार १५:१६ बजे

फाइल फोटो

काठमाडौँ - विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम भएको छ । उक्त फोहर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो ।

सो स्थानमा लामो समयदेखिको फोहर रहेकाले सबै फोहर अन्तिम व्यस्थापनस्थलसम्म लैजानका लागि भने थप केही दिन लाग्ने कामपाले जनाएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लैजान नपाएपछि महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । 


पटक–पटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । फोहर व्यवस्थापनका सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि आजदेखि साविक बमोजिम फोहर व्यवस्थापन कार्य भएको हो ।  

काठमाडाँको फोहर बञ्चरेडाँडासम्म लैजानका लागि विभिन्न पेशा तथा व्यवसाय क्षेत्रले पनि सहयोग गरेका छन् । यस क्रममा आज नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका छन् । 

समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ । यी टिपर पनि बिहानै फोहर बोकेर ल्याण्डफिल साइट पुगिसकेको महानगरको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । नगर प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिए । 

मालबाहक टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहर ढुवानीमा सहयोग गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले बताए । 


Author

थप समाचार
x