वातावरण

सरकारी गाडी नै वायु प्रदूषण बढाउन सक्रिय, बढी धुवाँ फाल्ने ११ सवारीसाधन ट्राफिकको कारबाहीमा

इकागज |
माघ ४, २०७९ बुधवार १९:२२ बजे

काठमाडौँ- उपत्यका ट्राफिक प्रहरी महाशाखाले मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सरकारीसहित निजी सवारीसाधनलाई कारबाही गरेको छ ।

बुधबार वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बबरमहलमा ६१ सवारीसाधनलाई धुवाँ परीक्षण गरेको थियो । जसमध्ये मापदण्डभन्दा बढी धुवाँ फाल्ने ११ वटा सवारीसाधनलाई ट्राफिक महाशाखाले कारबाही गरेको हो ।


मापदण्डभन्दा बढी धूवाँ फाल्ने सरकारी र संस्थानका गरी जिप ४, निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ वटा सवारी साधन कारबाहीमा परेको महाशाखाले जनाएको छ ।

सवारीसाधन मर्मतपश्चात तोकिएको जरिवाना तिराएर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या पर्ने प्रवक्ता भट्टको भनाइ छ । दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था जाँच गरेर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउनलाई चालकलाई उनको अनुरोध छ ।

 

 


Author

थप समाचार
x