वातावरण

रातको निद र दिनको चैन उडाउँछ दोदा

इकागज |
जेठ २१, २०८० आइतवार १७:१३ बजे

फाइल फोटो

बेदकोट - आफ्नै बेगमा शान्त बगिरहेको छ, दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा सानो छाप्रो पनि भेटिन्छन् । दोदाले बर्खायाममा बर्सेनि बिरुप देखाउँछ यहाँको बस्ती । वर्षामा तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ, दोदा । 

उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबानको समस्या झेल्न बाध्य छन् तटीय क्षेत्रका बासिन्दा । वर्षायाममा दुःख दिने त्यही दोदाको बगरमा स्थानीयले गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । 


“वर्षामा दोदाको बाढीले सास्ती दिन्छ, उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ”, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईका नन्दराम रानाले भने, “अरु समयमा दोदाको बगरमा तरकारी खेती गर्छौँ ।” उनले बगर छेउमा तरकारी खेती गर्न थालेको दशक भन्दा बढी भइसकेको बताए । रानाका अनुसार विसं २०६४ मा आएको बाढीले उनको खेतीयोग्य जमिन बगर बनाएको थियो । 

दोदा नदीले विस्थापित भएपछि कञ्चन सामुदायिक वनमा घर बनाएर बसोबास गरिरहेका छन्, राना । बगरमा तरकारी खेती गरेर जीविकोपार्जन गरिरहेको उनको भनाइ थियो । “डेढ÷दुई बिघा जमिन दोदाले बगायो, बस्नलाई पनि जमिन नभएपछि विस्थापित भएका थियौँ । अहिले पनि सामुदायिक वन क्षेत्रमा घर बनाएर बस्नुपरेको छ”, रानाले भने ।  

बगरमा गरिएको खेतीबाट मनग्यै आम्दानी हुने भएकाले जीविकोपार्जनमा समस्या नभएको उनले बताए । “लालझाडीका स्थानीयलाई वर्षामा दोदाको डर हुन्छ । बाँकी समय दोदाकै भरमा अर्थोपार्जन गरेर जीवन धान्ने गरेका छौँ”, रानाले भने । 

डाँडाजाईका ४७ वर्षीय मोलसिंह रानाको चार बिघा जमिन दोदाले बगाएर बगरमा परिणत भयो । अहिले त्यहीँ बगरमा खेती गरेर घरखर्च धानिरहेको मोलसिंहले बताए । “सुरुमा घरमै खानलाई थोरै मात्रै खेती ग¥थ्र्यौ, आम्दानी राम्रै हुन थालेपछि व्यावसायिक रुपमा बगरमा खेती गर्न थालेका छौँ”, उनले भने।

वर्षामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च गरिहेको मोलसिंहको भनाइ थियो । उनका अनुसार सिजनमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ ।

“माघदेखि बगरमा खेतीका लागि तयारी गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गरिन्छ”, लालझाडी गाउँपालिका–४ खल्लापट्टीकी सिठ्ठो रानाले भनिन् । उनले केही महिनायता दैनिकी फेरिएको बताइन् । दोदाको बगरमा बनाइएको छाप्रो उनको बासस्थान बनेको छ । नदीको पाँच कठ्ठा बगर क्षेत्रमा उनले तरकारी खेती गरेकी छिन् । बगरमा लगाएको तरकारी कुर्न बगर छेउमा छाप्रो बनाएर बस्नु परेको उनले बताइन् । 

“वर्षौदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ”, सिठ्ठोले भनिन्, “माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी ।” उनका अनुसार खेतीमा परिवारका सम्पूर्ण सदस्य जुट्ने गरेका छन् । श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्र्याक्टरमा लगेर गाउँ–गाउँमा बिक्री गर्छन् ।

अठ्ठाइस सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ । “जङ्गली जनावरबाट खेती जोगाउन हम्मेहम्मे छ, चोरी पनि हुन्छ”, सिठ्ठोले भनिन्, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ ।” उनका अनुसार दिनमा आफू र राति श्रीमान्ले खेतीको हेरचाह गर्छन् । बगरमा उत्पादित तरकारीबाट वार्षिक रू ६० हजार भन्दा आम्दानी हुने गरेको सिठ्ठोले सुनाइन् । 

लालझाडी गाउँपालिका–४ डाँडापट्टीकी डुठ्ठो रानाको पनि दैनिकी यस्तै छ । उनका श्रीमान् शारदा रोजगारीको सिलसिलामा भारतको सिम्लामा छन् । छोरीसहित डुठ्ठो भने बगर खेतीमा व्यस्त छिन् । उनले तरकारी किन्न ग्राहक बगरमै आउने गरेका बताइन् । बगरमा व्यावसायिक तरकारी खेती गर्ने नदी तटीय क्षेत्रका स्थानीय किसान खेती जोगाउन बगरमै बास बस्ने गरेका छन् । 

दोदा नदीमा करिब पाँच सय भन्दा बढी परिवारले बगर खेती गरिरहेका छन् । “दोदा नदीको किरानमा बस्ने हामी धेरैलाई डर छ, वर्षामा बाढी आउँदा कोही नदी तर्न सक्दैन”, लामो समयदेखि दोदाको बगरमा खेती गरिरहेका डाँगाजाईँका किसान दानसिंह गिरीले भने, “वर्षामा निकै दुःख दिने दोदाले फाइदा पनि गरेको छ ।”
रासस


Author

थप समाचार
x