वातावरण

गर्मीले मोरङको जनजीवन कष्टकर

इकागज |
जेठ २१, २०८० आइतबार १७:५९ बजे

फाइल फोटो

मोरङ - केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । 
 
बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ । बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् । केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।  
    
विद्यार्थी र मजदुर बढीजसो चर्को घामको मारमा परेका छन् । गर्मीका कारण पठनपाठन प्रभावित बनेको छ । केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विराटनगर–२ स्थित जनता नमूना माविकी आस्मिन खातुन घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताउँछन् । “कक्षा कोठामा बसेर पढ्ना असिनपसिन भइन्छ”, उनले भने–“गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छन् ।”
 
विराटनगर–५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका बताए । उनले भने, “गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन् । कतिपप विद्यार्थीको नाथ्री फुटेर नाकबाट रगत बग्दा घरबाट अभिभावकलाई बोलाउनु परेको छ ।” 

विराटनगर–२ स्थित पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले बढ्दो गर्मीका कारण विद्यालयमा पठनपाठन असहज बन्दै गएको बताए । “विद्यालय आउने विद्यार्थीको सङ्ख्या दैनिक घट्दै गएको छ”, उनले भने । 


यस्तै विराटनगर–३ सुकन्या मार्गका विमल कोइराला गर्मीले सताएको बेला बेला बेलामा बिजुली जाँदा झन समस्या भएको बताउँछन्। बेलाबेलामा विद्युत् अवरूद्ध हुँदा रातभर जाग्राम बस्नु परेको उनको भनाइ छ । बर्जु गाउँपालिकाका रिक्सा चालक जयराम रायले गर्मीका कारण यात्रु भेटिन छाडेको बताए । गर्मीका कारण आम्दानी ह्वात्तै घटेको रायले बताए । 

कोशी अस्पताल आकस्मिक विभागका चिकित्सक डा राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताए ।  दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको बताए । डा यादवले गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए । बढ्दो चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको बताउए । विराटनगर महानगरपालिकाले गर्मी बढेपछि यही जेठ १८ र १९ गते नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवम संस्थागत विद्यालय बन्द गरेको थियो ।
–––


Author

थप समाचार
x