वातावरण

अधिकांश स्थानमा केही दिन अझै अधिकतम तापक्रम बढ्ने

इकागज |
जेठ २६, २०८० शुक्रबार २०:१३ बजे

काठमाडौँ- नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरूले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले यस्तो बताएका दिएका हुन् ।

कार्यक्रममा बोल्दै मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । उनले न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने देखिएको जिकिर गरिन् । उनले नेपालमा १३ जुनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको बताइन् । 


उनले भनिन्, ‘यस वर्ष अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुनेछ । वर्षा कम हुने देखिएको छ । अधिकतम तापक्रम सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको छ । यो अझै धेरै समयसम्म रहन्छ । त्यस्तै न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने देखिएको छ । नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो, अब एक दुई दिनमा पूर्वी भूभागमा वर्ष हुनेछ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिनेछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँ-ठाउँमा माटोका भाँडाहरूमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागतीहरू हालेर पानी खुवाउने र मोहीहरू खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको सुझाव दिए ।

उनले यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने बताए । उनले यस्तो स्थितिमा परोपकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

त्यस्तै कार्यक्रममा अन्य मौसमसम्बन्धी विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरूले पूर्व सूचना प्रणाली कमजोर रहेको बताए । गर्मीका कारण लू लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्नसक्ने विज्ञहरूले बताए ।

तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

छलफलका क्रममा अब शीत लहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवाज उठेको छ । उनीहरूले गर्मीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तीन तहकै सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x