वातावरण

यसपटक मनसुन भित्रिने जेठमै कि असारमा ?

इकागज |
जेठ १८, २०७८ मगलवार ६:५२ बजे

फाइल फोटो

काठमाडौँ : यस वर्ष जेठको मसान्तमै नेपालमा मनसुन भित्रिने सम्भावना बढेको छ । प्रि-मनसुनको समयमा पनि हल्का वर्षा भइरहेकाले यस वर्ष समयमै नेपालमा मनसुन भित्रिने मौसमविदहरुको अनुमान छ ।

सामान्यतयाः जुन १० तारिख अर्थात जेठ अन्तिम हप्ता नेपालमा मनसुन भित्रिने गर्छ । कहिलेकाँही मनसुनी वायु आउन ढिलाई हुँदा ढिलो मनसुन भित्रिने गर्छ । तर यसपटक प्रि-मनसुनमै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले समयमै मनसुन भित्रिने मौसमविद समीर श्रेष्ठले बताए ।


‘यस वर्ष जुनको दोस्रो हप्ता अर्थात समयमै मनसुन भित्रिने सम्भावना छ’ उनले इकागजसँग भने, ‘प्रि-मनसुनको समयमा पनि वर्षाको गतिविधि बढेकाले समयमै मनसुन सुरु हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।’ जुन दोस्रो हप्ता भनेपछि मनसुन भित्रिने समय असारमा पनि पर्न सक्ने उनको भनाइ छ ।

समयमै मनसुन भित्रिदा धान रोप्ने किसानलाई फाइदा हुने गर्छ । मनसुन भित्रन ढिलाई हुँदा रोपाई समयमै गर्न नसकेर किसान मारमा पर्ने गरेका छन् । धेरैजसो ठाउँमा अहिले पनि आकाशे पानीको भरमा रोपाई हुने गरेको छ । 


Author

थप समाचार
x