वातावरण

वीरगञ्‍जमा पहिलोपटक वायु प्रदूषण मापन

इकागज |
मंसिर १२, २०७८ आइतबार ८:४१ बजे

फाइल फाेटाे

वीरगञ्‍ज-  वीरगञ्‍जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो । वीरगञ्‍ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्नेछ । 

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इन्जिनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो ।


मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ । यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको सङ्ख्या पनि बढ्दो छ ।

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ । 

शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य सुरु गरिसकेको जनाएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत संकलन कार्य सम्पन्‍न भइसकेको इन्जनियर कर्णले जानकारी दिए । 

“वीरगञ्‍ज उद्योग वाणिज्य संघसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्याकंन भइरहेको छ”, उनले भने । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ ।

उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करिब २०० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्याकंन गर्ने काम गरिरहेको छ । रासस
 


Author

थप समाचार
x