वातावरण

हिलाम्मे फेवाताल

फेवाको ड्याम मर्मत सुरु

अनिष भट्टराई |
माघ २४, २०७७ शनिवार १९:५२ बजे

पोखरा: फेवाको नीलो पानीमाथि डुंगा सयर गर्दा सबैको मन फुरुङ्‍ग हुन्छ । पानी छुँदै, छचल्क्याउँदै तालबाराही मन्दिर पुग्‍न र फेवाताललाई फेरो लगाउन नै पर्यटकहरू देश-विदेशबाट फेवा पुग्छन् । तर शनिबार त्यहाँ पुगेका पर्यटकलाई त्यसको भरपुर आनन्द भने लिन पाएनन् ।

कारण हो- फेवाको केही भाग हिलाम्मे बनाइएको छ । फेवाको त्यो हिलाम्मे भागमा कोही माछा मारिरहेका थिए भने बच्चाहरू खेल्दै थिए । २०-२५ जना हिलोमै काम गरिरहेका थिए । केही पर्यटकहरूले  हिलोमाथिबाट डुंगामा यात्रा गरे । फेवाको पानी रोक्ने मुख्य ड्याम मर्मतसम्भार गर्न तालको पानी पनि घटाइएको छ ।


२०३५ सालमा बनेको ड्याम मर्मत गर्न फेवाको २ मिटर पानी घटाइएको हो । तीन दशकअघि बनेको ड्यामलाई बेलाबखतमा मर्मत गर्ने गरिए पनि ठूलो मर्मत हुन सकेको थिएन । प्रदेश सरकारले फेवा ड्याम मर्मतका लागि गत आर्थिक वर्षमै बोलपत्र आह्वान गरेको थियो । तर कोभिड-१९का कारण काम हुन सकेको थिएन ।

‘हिजो (शुक्रबार) पानी घटायौं, २ मिटर डाउन गएर काम गर्ने हो, गेटको रबरसिल पनि बनाउँछौं,’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले भने । ड्याम मर्मत नगरिँदा तलको भाग काम नै नलाग्‍ने गरी बिग्रिएको पनि उनकाे धारणा छ । आचार्यका अनुसार बाँधको तल डबल स्टिम रोटेसन राखिनेछ ।

प्रदेश सरकारको २ करोड रुपैयाँ बजेटमा काम भइरहेको हो । एक करोड ड्याम र एक करोड रुपैयाँ नहर मर्मतमा खर्च गरिने आचार्यले जानकारी दिए । फेवाको ड्याम २०१९ सालमा बाँधिएको थियो । तर उक्त ड्याम २०३१ सालमा फुटेपछि ३५ सालसम्म अहिले रहेको ड्याम निर्माणको काम भएको थियो । 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x