वातावरण

रुखका ११ रमाइला तथ्य

इकागज |
चैत १२, २०७७ बिहीबार ७:५९ बजे

काठमाडौँ :  रुख छन् र त मान्छे छन् । रुख नभएको भए, सायद मान्छेकाे अस्तित्व पनि हुने थिएन । किनकि मान्छेले फेर्ने स्वासकाे सम्बन्ध रुखसँग जाेडिएको छ । रुखले अक्सिजन दिन्छ र त मान्छे बाँच्छ। रुखले भने बाँच्‍नको लागि वातावरणबाट कार्बाेनडाइअक्साइड लिन्छ । तर के तपाईंलाई थाहा छ, रुख पनि एकआपसमा कुरा गर्छन् । र संकटको समयमा संकेतहरू पठाउँछन् । 

यहाँ रुखसम्बन्धी ११ राेचक पक्षहरूकाे चर्चा गरिएको छ : 


६० हजार फरक प्रजाति 

एल युनिभरसिटीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार पृथ्वीमा झन्डै ३० खर्ब रुखहरू रहेका छन् । र ६० हजार प्रजातिका रुखहरू छन् । र आधा भन्दा बढी प्रजातिका रुखहरू एउटै देशमा पनि पाइन्छ । ब्राजिल, कोलम्बिया र इन्डोनेसियामा मात्रै थुप्रै प्रजातिका रुखहरू पाइन्छन् । तर, मानव सभ्यता सुरु भएताका भएको भन्दा अहिले ४६ प्रतिशतले कम रुख छन् । 


जलवायु परिवर्तनबाट बच्‍नको लागि रुखहरू बसाइँ सर्छन् 

रुखहरू आफै उखेलिन र सर्न सक्दैनन्, तर जलवायु परिवर्तनसँगै उनीहरूको समूहले आफ्नो केन्द्र बदल्न सक्छन् । सन् १९८० देखि २०१५ भित्र पूर्वी अमेरिकाको ८६ प्रजातिका ७३ प्रतिशत रुखहरू पश्चिमतिर सरेको एक अध्ययनले देखााएको छ, जहाँ वर्षा बढि हुन्छ । अरु प्रजातिका रुखहरू गर्मी छल्नको लागि पोल्सतिर सरे । औसतमा तिनीहरू एक दशकभित्र १६ किलोमिटर (१० माइल्स) बसाइँ सरे । 


सहरहरूलाई शीतल राख्छ 

रूखहरूले हामीलाई केबल छाया मात्रै दिँदैन, यसले चरम तापक्रमलाई कम पनि गर्छ । यसले सूर्यको विकिरणलाई सोसेर, आफ्ना पातहरूबाट पानीका कणहरू हावामा छोड्छ । 

गर्मी मौसममा समयमा सहरहरू झनै तात्छन् । २००९ मा अमेरिकामा भएको एक अध्ययनले गर्मी समयमा रुखहरूले तापक्रम कम गर्ने देखाएको छ । 

प्रदुषण सोस्छ

रुखले वातावरणबाट कार्बाेनडाइअक्साइ लिन्छ, यो सर्वमान्य तथ्य हो । त्यसैले जलवायु परिवर्तनको लडाइँमा रुखले महत्वपूर्ण भूमिका खेल्न सक्छ । रुखले पातहरूलाई हावामा भएका नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता विषालु ग्यासँहरू फिल्टर गर्न पनि प्रयोग गर्छन् । 

बेलायतमा भएको एक अध्ययनका अनुसार ‘सिल्भर बिर्च’, ‘यू’ प्रजातिका रुख र पुराना रुखहरूले क्रमशः ७९ प्रतिशत, ७१ प्रतिशत र ७० प्रतिशत प्रदुषण कम गर्न सक्छ । 

उपचारात्मक शक्ति 

रुखहरूले हाम्रो तनावको मात्रालाई कम गर्न सक्छ । र हामीलाई स्वस्थ र खुसी महशुस गराउन सक्छ । प्रकृतिमा समय बिताउँदा वा झ्यालबाट रुख वा फूलहरूलाई हेर्दा मात्रै पनि केही हदसम्म रक्तचाप कम गर्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनु, निन्द्रामा सुधार गर्नु, उदासिनता र चिन्ता कम गर्नुका साथै कोही व्यक्तिको शल्यक्रिया भएको छ भने पनि चाँडै निको गर्न मद्दत गर्छ । 


रुखहरू एक-अर्कासँग ‘कुरा’ गर्छन् 

जंगलको आफ्नै सञ्‍चार गर्ने पद्दती हुन्छ । लगभग भूमिगत इन्टरनेट जस्तै । जसलाई एक रुखले अर्काे रुखलाई पोषणबारे वा रोगबारे चेतावनी पठाउन प्रयोग गर्छन् । रुखहरूले माटोमा हुने ढुसीहरूका माध्यमबाट सुचना आदानप्रदान गर्छन् ।

त्यसैले ढुसीलाई माइकोराइजल नेटवर्क पनि भनिन्छ । इकोलोजिस्ट सुजान सिमार्डले गरेको अध्ययन अनुसार ‘पेपर बीर्च’ र ‘फर’ प्रजातिका रुखहरूले  यस प्रणालीलाई पानी, कार्बन र पौष्टिक तत्वहरू पठाउन प्रयोग गर्छन् । 

खतराको संकेत पठाउन सक्छ

कुनै भोका शाकाहारीले खान आँटे भने रुखहरू आफुलाई जोगाउन भाग्‍न सक्दैनन् । तर उनीहरूले रसायन पदार्थ भने छोड्न सक्छन् । नजिकै रहेका उही प्रजातिका रुखहरूलाई खतराबारे जानकारी दिन हावाको माध्यमबाट संकेत पठाउन सक्छन् ।

केही अध्ययनका अनुसार खतराको संकेत पाउने वित्तिकै रुखहरूले ‘एन्टि हर्बिभोर टक्सिन’ (विषाक्त पदार्थ)को उत्पादन बढाएर प्रतिक्रिया दिन्छ । जसको कारण रुखका पातहरू तितो हुन्छन् । 


चनाखाे रुख 

रुखलाई विभिन्‍न प्रकारका किराले आक्रमण गर्ने हुन्छ । परजीवी किराहरूले आक्रमण गर्दा स्याउका रुख, गोलभेडा, काँक्रोका बोटले हावामा संकेत छोड्छन् । जसका कारण यस्ता परजीवीलाई आक्रमण गर्न सिकारी किराहरू आउने हुन्छ ।

युरोपमा भएको एक अध्ययनका अनुसार झुसिलकिराबाट पीडित रूखहरूले रासायनिक संकेतहरू छोड्छन् । र झुसिलकिरा खाने ‘ग्रेट टिट’ चराहरूलाई निम्ता दिन्छन् ।

लामो आयु भएको मेथियुजला 

एक मानिस बढिमा सय, डेढ सय वर्ष बाँच्‍न सक्छन् । तर एउटा रुख हजारौँ वर्ष बाँच्‍न सक्छ । ओल्ड लिस्टका अनुसार दर्ता भएको पुरानो रुखहरूमा क्यालिफोर्नियाको ह्वाइट माउन्टेनमा रहेको ब्रिसलकोन पाइन रुख सबैभन्दा पुरानो जीवीत रुख मानिन्छ । जसलाई मेथियुजला पनि भनिन्छ । यो करिब ४ हजार ८ सय ५० वर्ष पुरानो छ । यसलाई चोरहरूबाट जोगाउनको लागि, यो कहाँ छ भन्‍ने तथ्य गोप्य राखिएको छ । 


हाइपेरियन, द जायन्ट 

लण्डनको ‘विगबेन’ घडी घर  र अमेरिकाको स्टेच्यु अफ लिबर्टी जति अग्लो छ, त्यो भन्दा पनि अग्लो छ ‘कोस्ट रेडवुड’ रुख अग्लो हुन्छ । जसलाई हाइपेरियन पनि भनिन्छ । यो रुख ११५.८५ मिटर(३८० फिट) अग्लो हुन्छ । सन् २००६ मा क्यालिफोर्नियामा यो रुख फेला परेको थियो । 


 

रेकर्ड ब्रेकर रुखहरू 

क्यालिफोर्निया ‘जायन्ट सेकोया’ वा ‘जेनेरल शेर्मन’को घर पनि हो । यो रुखको आयतनका हिसाबले यसलाई सबैभन्दा ठूलो जीवित रुख मानिन्छ । यसको उचाई ८३.८ मिटर रहेको छ भने यसको डायमिटर ७.७ मिटर छ ।

त्यस्तै विश्‍वको फराकिलो रुख ‘अर्बाेल डेल ट्युल’ हो । यसको डायमिटर ११.६ मिटर रहेको छ भने यसको परिधि ४२ मिटर छ ।  


डि डब्लु डटकमबाट भावानुवाद
 


Author

थप समाचार
x