फेसन

तास्मानियामा हेरिटेज अफ फेसन

इकागज |
असार ११, २०८० सोमबार १७:१४ बजे

काठमाडौं -अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा ‘हेरिटेज अफ फेसन’ सम्पन्न भएको छ । आसाप इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो ।

यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन संचारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए । संस्थाका अध्यक्ष तथा निर्माता सन्तोष अधिकारीले तास्मानियामा नेपाली समुदायको यो पहिलो कार्यक्रम भएको बताए ।  ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्याम्प नापेका थिए । ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ ।


 परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजकको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताए । नेपाल र सिड्नीमा हेरिटेज अफ फेसन अस्ट्रेलिया सफलता पूर्वक सम्पन्न भैसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि–पोडक्सनमा समेत व्यस्त छन् ।
 


Author

थप समाचार
x