जात्रा-पर्व

ठेचोको १२ वर्षे जात्राका लागि गोदावरीले दियो ५० लाख

इकागज |
असार ३२, २०७९ शनिवार १३:३७ बजे

ललितपुर । ललितपुरको ठेचोमा हरेक १२ वर्षमा मनाइने नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख दिएको छ । शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितिलाई चेक हस्तान्तरण गरेका हुन् ।

नवदुर्गा नाच वाङ्य कमिटी अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलब्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सहज हुने बताए । उनले भने, ‘हाम्रो न्युनतम आंकलनअनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’
नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ सफासुग्घर राख्न आग्रह गरे । नगरपालिकाको १२ नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले  विभिन्न कमिटी बनाएर जात्राको तयारीमा लाग्न अनुरोध गरे ।
यही १० साउनदेखि सुरु हुने जात्रा आउँदो फागुनसम्म सञ्चालन हुनेछ । जात्रा अवधिभर २८ वटा पूजा हुनेछन् भने ठेचो र सुनाकोठीबासीका लागि भोज खुवाइन्छ ।


 


Author

थप समाचार
x