जात्रा-पर्व

मकवानपुरमा विविध कार्यक्रम गरी मनाइयो जितिया पर्व

इकागज |
असोज ३, २०७९ सोमवार २१:१५ बजे

मकवानपुर- थारू समुदायका महिलाहरूको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरी मनाइएको छ । 

थारू कल्याणकारीणी सभा, थारू महिला सभा, थारू युवा सभा र थारू विद्यार्थी सभा मकवानपुरले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् । 


शनिबार सामूहिक स्नान, पूजापाठ र भोजन, आइतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा वाचन र सोमबार साँस्कृतिकसहित विशेष कार्यक्रम आयोजना गरिएको थारू कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारू कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारू महिला सभा मकवानपुरकी सभापति द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा थारू भेषभुषा लगाएर भेला भएका थारू युवक-युवतीहरूले थारू, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा थारू कल्याणकारीणी सभा मकवानपुरका सभापति हरिलाल चौधरी, उपसभापति अमिता चौधरी, थारू विद्यार्थी सभा मकवानपुरका सभापति राजेश चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


Author

थप समाचार
x