जात्रा-पर्व

प्रदेश प्रहरीले बनायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

इकागज |
असोज ५, २०७९ बुधबार २०:३८ बजे

मकवानपुर- बागमती प्रदेश प्रहरीले नजिकिँदै गरेको बडा दशै, शुभ दिपावली र छठलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ ।

प्रहरीले बुधबार प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यद्वारा विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी आजबाट लागू गरिएको प्रदेश प्रहरीले जनाएको छ ।


चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिम प्राप्त प्रहरी कुकुरसहित नियमित तथा सरप्राइज चेकजाँचको व्यवस्था मिलाउने भएको छ । यसैगरी नियमित मोवाइल गस्ती परिचालन गर्ने, नियमित पिकेट डियुटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाइने छ ।

चाडपर्वको बेलामा हुनसक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने तयारी भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरूकाे गति नियन्त्रणका लागि राडरगनसहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरूमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजनाअनुसार मातहत कार्यालयबाट काम कारबाही भए/नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाइने रेग्मीले बताए ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ५,३३२ जना प्रहरी टोली परिचालित हुनेछन् । यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले विशेष सुरक्षा योजनामा उल्लेख गरिएका गतिविधिहरूलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधहरूको न्यूनीकरणमा आ–आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनका लागि आवश्यक निर्देशन दिइएको छ ।


Author

थप समाचार
x