जात्रा-पर्व

फूलपातीकाे विशेष महत्व

वर्षदिन फूलपातीलाई कसरी प्रयाेग गर्ने ?

इकागज |
असोज १६, २०७९ आइतबार ८:८ बजे

काठमाडौँ- ​दसैँकाे साताैं दिन रात्रिकालीन भगवतीको पूजा उपासना गर्ने शास्त्रीय नियम रहेकाे छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीकाे क्रमशः पूजा आव्हान पश्चात् उक्त दिनकाे नित्य पूजापश्चात मध्यान्ह कालमा नवपत्रिकाका रूपमा फूलपाती भित्र्याउने शास्त्रीय नियम रहिआएको छ ।


यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेकाे शुभ समय निर्धारण गरेकाे छ ।

षष्टी तिथिका दिन साँझकाे समयमा विल्व निमन्त्रणा गरेपछि सप्‍तमी तिथिमा नवपत्रिकाका रूपमा पूजाकाेठामा फूलपाती भित्र्याउने शास्त्रीय नियम रहिआएकाे छ ।

'कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशाेकाै जयन्ती च विज्ञेया नवपत्रिका : ।।'

१ कदली- केराकाे पात २ दाडिमी - दाडिम (अनार) ३ धान्या - धान (बाला सहितको बाेट ) ४ हरिद्रा- हलेदाे ५ मानकं - ६ कचु ७ अशाेक ८ बेल ९ जयन्ती यसरी नाै प्रकारका अैाषधीय गुणले युक्त भएका जडिबुटीका रूपमा मध्याह्नकाे समय पारेर पूजाकाेठा या जमरा घरमा विधिपूर्वक दीयाे, कलश गणेश स्थापना गरेर पञ्चाेपचार या षाेडषाे पचारले विधिपूर्वक पूजा गरेर शंख, घन्टसहित बाजागाजा बजाएर मंगलधुनसहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवपत्रिकाकाे विशेष महत्व रहेकाे छ । हाम्राे देश नेपाल वैदिक, हिन्दु तन्त्रात्मक सिद्ध भूमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्वहरू मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थहरूमा व्याख्या भएकाे पाइन्छ । हिमाल, पहाड र तराई गरी तीन भागमा नेपालीहरूकाे बसाेबास रहेकाले पनि भूमिअनुसार उपलब्ध वस्तुहरू पूजाघरमा भित्र्याउने र पूजा गर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ ।

यसरी भित्र्याउने फूलपाती सुकेपछि धुलाे बनाएर शुद्ध गाईको घ्यूले माेलेर वर्षदिन धुपका रूपमा प्रयाेग गर्ने पनि नियम रहिआएको छ । लेखक :- सुरेश चन्द्र रिजाल, ज्योतिष पण्डित


Author

थप समाचार
x