जात्रा-पर्व

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सुरु

इकागज |
असोज १६, २०७९ आइतवार २०:४५ बजे

फाइल फोटो

काठमाडौँ- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँमा रहेको उक्त मन्दिरमा आजदेखि जात्रा सुरु भएको हो  ।

 निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्यपूजा भइरहेको मन्दिरमा महासप्तमीका अवसरमा विशेष पूजाआजासहित जात्रा सुरु भएको हो ।


 हरेक वर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पुर्‍याउने चलन रहिआएको छ । महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपहाडकै बढी सङ्ख्यामा यहाँ पशुबलि दिइन्छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरुसमेत आउने गरेको स्थानीयवासी रमेश बोहराले बताए । जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा एक वर्षमा चारपटक जात्रा हुने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्यरूपमा सम्पन्न गर्नका लागि देहिमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहिमाडौँ बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

मदिरा सेवन र बिक्रीका कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले दसैँको अवधिसम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । कसैले मदिराको कारोबार र सेवन गरेमा कानूनअनुसार कारबाही हुने समेत जनाइएको छ ।


Author

थप समाचार
x