जात्रा-पर्व

यी हुन् माघ १ गते नुवाकोटको बेत्रावतीमा जुधाइने गोरु

इकागज |
पुस २७, २०७९ बुधबार १३:५३ बजे

काठमाडौँ- सदाझै यस वर्ष पनि नुवाकोटको बेत्रावतीमा हुने ‘गोरु जुधाइ’ का लागि गोरु छनौट भएका छन् । माघ १ गते अर्थात् माघे संक्रान्तीमा प्रत्येक वर्ष गोरु जुधाइ हुने गरेको छ ।

बेत्रावतीमा गोरु जुधाइमा सहभागी गराउन स्थानीयले १८ वटा गोरु तयार गरेका छन् । गोरु छनौट समितिका संयोजक अष्टमान डंगोलले स्थानीयले ल्याएका मध्येबाट १८ वटा गोरु छानिएको जानकारी दिए ।


स्थानीय क्लबले करिब दुई दशकदेखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव गर्दै आएका छन् । केही वर्षअघि कोभिड- १९ महामारीले गोरु जुधाइ रोकिएको थियो ।

यसपटक बासिन्दाको सक्रियतामा गोरु जुधाइ उत्सवले पुनः निरन्तरता पाउने भएको छ । नुवाकोटका विभिन्न गाउँ हर्कपुर, साहुगाउँ, तुप्चे, फिकुरी, गेर्खुलगागतका गाउँ र रसुवाका लहरेपौवा, धुसेनी, बोगटीटार, कैडलेटार लगायतका गाउँका किसानहरू आ-आफ्ना जुरे गोरु लिएर उत्सवस्थलमा आउने गर्छन् ।

प्रतिस्पर्धामा एकएक जोडीबीच मात्र जुधाइ हुने गर्छ । प्रथम र दोस्रो हुने गोरुलाई पुरस्कार र सहभागी हुने गोरुलाई नगद दिने गरिन्छ । जुधाइमा सहभागी गोरुलाई स्थानीय उत्पादनका घासहरू खुवाउने आयोजकले बताए । अधिकांश गोरुलाई भिटामिन र सखरखण्ड खुवाउने गरिन्छ ।

विशेषगरी उत्सवको दिनमा गोरुलाई छयाङ र रक्सी खुवाउने गरिएको छ । गोरु जुधाइ हुनु केही समय अघिमात्र रक्सी खुवाउने गरिन्छ ।


Author

थप समाचार
x