जात्रा-पर्व

थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न

इकागज |
बैशाख २४, २०८० आइतबार २०:२० बजे

काठमाडौँ- रातो मच्छिन्द्रनाथ रथजात्रा अन्तर्गत आइतबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ । किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवका रूपमा लिन्छन् । रथमाथिबाट खसालिएको नरिवलसमात्ने व्यक्तिको पहिलो सन्तानका रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।


थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि शुक्रबार बिहान महिलाहरूले रथ तान्ने परम्परा छ । नरिवल खसाल्ने जात्रा सकिएको केही दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् ।

रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ । 


Author

थप समाचार
x