जात्रा-पर्व

पशुपतिनाथमा हजारौँ बोलबम यात्रीले चढाए जल

इकागज |
साउन १५, २०८० सोमबार २०:१ बजे

फाइल फोटो

काठमाडौँ - सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् । 

यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया संघको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए । 


प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । 

सौरमास अनुसार साउनको तेस्रो साता आज पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उनले सुनाए । आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं विश्व हिन्दू महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारीलगायतले पनि दर्शन गरेको महाशाखा प्रमुख पराजुलीले बताए । भारतबाट पनि आज उल्लेख्य मात्रामा भक्तजन पशुपतिनाथको दर्शनमा आएका थिए । 

पशुपतिनाथमा आज रु सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् । एक जना भक्तजनले भने रु ६५ हजारको रसिद काटेको जनाइएको छ ।

साउनको सोमबारका लागि पशुपति क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला समिति र विश्व हिन्दू महासंघको काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारीले पनि सामूहिकरूपमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको जनाइएको छ । रासस


Author

थप समाचार
x