जात्रा-पर्व

सूर्यको पूजा भए पनि छठि मईया किन भनिन्छ ?

सुभाष कर्ण |
मंसिर ३, २०८० आइतबार २१:५९:११ बजे

जनकपुरधाम- तराई मधेशका जनकपुरधामसहित देशका संघीय राजधानी र हिमाल पहाड समेत आज धुमधामका साथ छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने छठ पर्वको आज तेश्रो दिन अस्ताउँदो सूर्यको पूजापाठ गरी साँझ पखको अर्घदान गरिएको छ ।

मिथिलाञ्जलको लोकपर्वको रूपमा मानिएको छठ पर्व छठि मईयाले चिनिन्छ भने पूजा तथा उपासना भगवान सूर्यको गरिन्छ । पटक पटक यो प्रश्न उठ्दै आएको कि पूजा सूर्यको गरिन्छ तर छठि मईया किन भनिन्छ ? छठ पर्वको पूजा गरिने भगवान देवी (महिला) हुन कि देवता (पुरुष) बारे पनि प्रश्न उठ्ने गरेको छ ।


छठमा प्रकृति र ऊर्जा दुवैलाई पूजा गरिन्छ भन्ने संस्कृतिविद्हरूको मत छ । उनीहरूका अनुसार छठि मईया भनिने हाम्रा प्रकृति र ऊर्जा भन्ने सूर्य भएकाले यस पर्वमा दुवैको पूजा गर्ने गरिएको छ । विभिन्न धार्मिक ग्रन्थ र विचारले पनि हेर्दा पनि संस्कृतिविद्हरूको भनाइलाई नाकार्न सकिँदैन । यसमा विभिन्न मतहरू छन्: केही संस्कृतिविद्हरूले सूर्यलाई देवी र देवता दुवै रूपमा चिनिन्छ भन्छन् भने अधिकांशले सूर्यकी बहिनी प्रकृति भएको कारण उनलाई खुसी पार्न दुवैको पूजा गर्ने गरिएको बताउंछन् ।

मार्कण्डेय पुरानका अनुसार भगवान ब्रह्माजीले सृष्टीको रचना गर्दा आफूलाई प्रकृति र सूर्य गरी दुई भागमा विभाजन गरे । जसले गर्दा सूर्यलाई ब्रम्हाको पुत्र र प्रकृतिलाई पुत्री भनिएको छ । यो अनुसार प्रकृति सूर्यको बहिनी हुन् । प्रकृति भनिएका भगवान ब्रम्हाकी मानस पुत्री हुन् र उनकै छठौं अंश देवसेना हुन । प्रकृतिको छठौं भएका कारण देवसेनालाई छठि मईया भन्ने गरिएको हो ।

कात्तिक अमावस्याको दिन मनाइने दिपावलीको छैठौँ दिन कात्तिक शुक्ल षष्ठी तिथिका दिन मनाइने गरिएको कारण पनि छठि मईया भन्ने गरिन्छ । केही पुरान अनुसार नवरात्रामा पुजिने माता भगवतीको छैठौँ स्वरूप कात्यानीको नामले पनि छठि मईयालाई चिनिन्छ । र यसको पूजा नवरात्राको छठौ दिन गरिन्छ ।

श्रीमद भागवत महापुराणको अनुसार पनि ब्रम्हाबाट उत्पन्न भएकी प्रकृतिको छैठौँ अंश भएका कारण यसलाई छठि मईया भनिन्छ । ब्रम्हाले सृष्टिको रचना गर्दा आफ्ना शरीरलाई दुई भागमा विभक्त गर्दै दायाँ भागबाट मनुष्य र बायाँ भागबाट प्रकृतिको उत्पति गरेका हुन । ती प्रकृतिको छठौ अंश नै कालान्तरमा छठि मईयाको नामले परिचित छिन् ।

यस सम्बन्धमा संस्कृतिविद् एवं वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले पुरानहरूको मतलाई स्वीकार्दै सूर्य र छठि पूजा बारे फरक विचार राख्छन् । उनका अनुसार संसारका जति पनि प्राचीनतम र महानतम सभ्यताहरू थिए यी सबैमा कुनै न कुनै रूपमा सूर्यको पूजाको परम्परा छ । हामीले वेददेखि सुरु गर्छौ त्यो गलत कुरा हो, जस्तै उदाहरणका लागि ‘द बूक अफ रेगुलेशन’ भन्ने बाइबलको एउटा पार्ट छ । जसमा भनिएको त्यो आदिशक्तिको सूर्य फरिया मात्रै हो । तात्पर्य के छ भने सम्पूर्ण श्रृष्ठिको मूल, सम्पूर्ण ऊर्जाको श्रोत सूर्य हो र सम्पूर्ण जीवन त्यसै आदिशक्तिबाट हो । ग्रीक सभ्यता भनिएको छ श्रृष्ठिकी आदि देवीले दूईटा फुल पारिन् जो एउटा सूर्य र अर्को चन्द्रमा थिए । यसै कथाको आधारमा भनिएको छ इजिप्टमा हथोर भन्ने देवताले त्यो फुलहरूलाई फोड्यो भने सूर्य देवी निस्कियो जसलाई हामी छठि मईया भन्छौं । त्यसै अनुसार हामीले विभिन्न कल्चरमा सूर्यलाई देवीको रूपमा पुज्छौँ त्यसैलाई हाम्रो परम्परामा पनि जोड्छौं ।

जर्मनीको जर्मन भाषामा सूर्यलाई देवी भनिन्छ । लिथिनियामा पनि सूर्यलाई देवीका रूपमा नै लिइन्छ । जब पुरुष सत्ताको विकास भयो । सूर्यलाई देवताको रूपमा भन्न थालिएको उनको भनाई हो । विश्वव्यापी रूपमा सूर्यलाई कतै देवी त कतै देवताको रूपमा पुजिन्छ । तर, मिथिलामा दुवै रूपलाई मिश्रित गरी छठ पर्वको सूर्यको पूजा गरिन्छ ।

आर्यसमाजबाट प्रादुर्भाव भई अहिले नेपाल–भारतमा मात्र नभई संसारभरि कुनै न कुनै रूपमा सूर्य पूजा गरिँदै आएको छ । सूर्य उपासनाको विस्तारित रूप कलान्तरमा छठ पर्व हो । छठ पर्व कहिलेदेखि शुरु भएको हो भन्ने अधिकारिक अभिलेख नभएपनि मिथिला र बज्जिका संस्कृतिको उपज रहेको मानिन्छ । यसलाई मिथिलाञ्चलको लोक पर्व पनि भनिन्छ ।

सूर्य उपासना र पूजाको विभिन्न उदाहरण भए पनि ५ हजार ईसापूर्व याज्ञवल्क्यले सूर्य उपासना गरेको विभिन्न प्रमाण भेटिएको कारण यसलाई मिथिलाञ्चलको पर्व भनिँदै आइएको हो । पछि विस्तार हुँदै १ हजारदेखि ६ सय ईसापूर्वमा बज्जिका संघका सदस्य मिथिला र वैशाली दुवै भएपछि दुवै राज्यको कला–संस्कृति मिसिएपछि गंगा घाटीसम्म मनाइँदै आइएको हो । नेपाल राज्यमा लिच्छवि कालदेखि सूर्य उपासनाको प्रादुर्भाव भएको हो । जसको प्रामाणिकता काठमाडौँस्थित अभिलेखालयमा संग्रहित लिच्छविकालीन सूर्य मूर्तिहरू छन् । वैदिक अनादि कालदेखि चल्दै आएको सूर्य उपासना हाल आस्था एवं सामाजिक पर्व छठका रूपमा परिणत भएको छ ।

सूर्यलाई वैदिककालमा एउटा प्रमुख देवता मानिन्छ । प्रथम वेद ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ । विश्वका सबै जीवजन्तु र वनस्पति सूर्यकै तापबाट बाँचेका छन् । अथर्व वेदमा त सूर्यलाई ब्रह्माका रूपमा मानिएको छ । छठ पर्वमा सूर्यको पूजा, उपासनामा कृषि सामाग्रीका साथै उसैको कृपाबाट उत्पादन गर्न सफल कृषि सामग्री र मानवका पनि बच्चा हुनुमा उसैको कृपा रहेको हुँदा ‘मईया’ भनिएको जनविश्वास छ ।

सूर्यलाई भौतिक ऊर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्पद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, ब्रह्मचर्य तथा श्रद्धाको प्रतीक भनिन्छ । जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह नक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हुन् र यी सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतीकको रूपमा प्रकृति हुन् । जसलाई हामी छठि मईया भन्छौं ।

जे भए पनि छठ पर्व गर्दा चर्मरोगबाट निको हुने जनविश्वास रहेको छ । जसको वैज्ञानिक महत्व पनि छ । सूर्य चिकित्सा पद्धति नै छ । जसमा चर्मरोग मात्र नभई अन्य रोगको निदान हुन्छ । चर्मरोगका विभिन्न प्रकारमध्ये कुष्टरोग (ल्याप्रोसी), रातो धब्बासहितको छालारोग (सोरियासिस) र सेतो दाग (ल्युकोडर्मा) हुन् । यी चर्मरोग छठको बेला अर्थात् सूर्यको रातो किरण समान रूपमा पर्ने समयमा स्नान गर्दा निको हुने मान्यता छ ।

शरीरमा सूर्यको सम्बन्ध

यति मात्र नभई सूर्यमा हाइड्रोजन, हिलियम, आइरन, निकेल, अक्सिजन, सिलिकन, सल्फर, म्याग्नेसियम, कार्बन, नियोन, क्याल्सियम, क्रोमियम लगायतका तत्व हुन्छन् । त्यसबाट सात रङ्गको किरण उत्पन्न हुन्छ । ती किरण शारीरिक उपचार र जीव विकास क्रमको प्रमुख द्योतक हुन् । सूर्य चिकित्साको सिद्धान्तअनुसार रोगोत्पत्तिका कारण शरीरमा रहेका विभिन्न रङहरूको उतार चढाव हो । सूर्यको किरणमा रहेका सात रङ्ग अर्थात् पराबैजनीले विभिन्न रोगको किटाणुलाई नष्ट पारी स्वस्थ जीवन प्रदान गर्छ ।

वैज्ञानिक तथ्य अनुसार सूर्योदय वा सूर्यास्तको समयको रातो किरणले हृदय रोग निको पार्छ । ती  समयमा पृथ्वीमा सामान रूपले किरण परेको बेला स्नान गर्दा चर्मरोगमा रहेका ब्याक्टेरिया नष्ट पारी निको बनाउँछ । जन्मिने अधिकांश बच्चा पिलियो रोगबाट ग्रसित हुन्छन् । त्यसको उपचार स्वरूप सूर्योदयको बेला पर्ने किरण शरीरमा पर्ने गरी सुताउने गरिन्छ । जसले अल्ट्रा भायलेट किरण शरीरमा पर्दा पिगमेन्ट सेल्स पर रासायनिक प्रतिक्रिया प्रारम्भ भी पिलिया समाप्त हुन्छ । चिकित्सकहरूले पनि जन्मिने बेलामा सूर्यको किरण अभावमा कृत्रिम अल्ट्राभायलेट किरणयुक्त ल्याम्पमा बालेर राख्ने गर्छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x